२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातैमा सेवा दिने स्थानीय सरकार: डिजिटल रूपान्तरणले जीवन बदलिरहेको पालिका

अ+ अ-

स्थानीय सरकारले नागरिकलाई हातहातमै सेवा दिइरहेको झट्ट सुन्दा काल्पनिक झैँ लाग्न सक्छ । तर बुढानीलकण्ठ नगरपालिकाले डिजिटल प्रविधिको व्यापक प्रयोगमार्फत यसलाई यथार्थ बनाएको छ जसबाट नागरिकको दैनिकी नै बदलिँदै छ ।

काठमाडौँ । सेवा लिन सरकारी अड्डा धाउँदा बडेमानका कागजका ढड्डा खोज्नु र खोतल्नुपर्ने कष्ट त तपाईंले पनि पक्कै ब्यहोर्नुभयो होला । अनि तिनै ढड्डामा खोजेको कागजात नभेटिएको भन्दै कर्मचारीले अनेक बहाना बनाएको, एकैछिनमा हुने कामका लागि महिनौँ झुलाएको र त्यति गर्दा पनि काम नभएको तीतो अनुभव पनि तपाईंसँग पक्कै छ । हेर्नुस् त, कति छिटै यो अवस्था फेरिएको छ । पत्याउनु हुन्न भने एकपल्ट बुढानीलकण्ठ नगरपालिका पुग्नुस् । त्यहाँ स्थानीय शासन र स्थानीय सरकारको सेवाप्रवाह नै अब प्रविधिमैत्री संरचनामार्फत हुन थालेको छ । अनि त्यो सेवा नागरिकका घर आँगनसम्मै पुगेको छ ।
मुलुकको संघीय राजधानीको छेउमै रहेको काठमाडौँको बुढानीलकण्ठ नगरपालिका पुग्दा राज्यका सेवा नागरिकले अब हातहातमै पाउन थालेको अनुभूति हुन्छ । र यो काम प्रविधिको प्रयोगले सम्भव बनाएको छ । यसलाई नगरपालिकाले ‘डिजिटल रुपान्तरण’ भन्ने नाम दिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको डिजिटल रुपान्तरणतर्फको यात्राको आधार कुनै एक कार्यक्रम वा निर्णयमा सीमित छैन । स्थानीय तहमा दैनिक रूपमा भइरहने प्रशासनिक गतिविधिदेखि सामाजिक सुरक्षा भत्ता वितरण, कर भुक्तानी, स्वास्थ्य सेवा, आवश्यक विभिन्न प्रमाण–पत्र प्राप्ति, शैक्षिक अभिलेख व्यवस्थापनदेखि रोजगारीसम्बन्धी सबैजसो विवरण संकलनसम्मका काम अब सूचना प्रविधिको प्रभावकारी प्रयोगमा आधारित बन्नपुगेका छन् ।

नगरपालिकाले डिजिटल पूर्वाधार बिस्तारलाई आफ्नो प्राथमिकताका रूपमा अघि बढाएको छ । वडा कार्यालयहरूमा इन्टरनेट सुविधा, अनलाइन सेवा प्रणाली, मोबाइलमै सूचना प्राप्त हुने सिस्टम र डिजिटल अभिलेख यहाँका विशेषता हुन् । अनि नागरिकको स्थानीय सरकारप्रतिको गुनासो व्यवस्थापन प्रणाली पनि डिजिटल नै हुन पुगेको छ । यी कारण अब सेवाग्राहीलाई सेवा लिन कार्यालय धाउनुपर्ने झन्झट क्रमश: अन्त्य हुँदै गएको छ जसले नागरिकको खर्च, समय सबै बचत गरिरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला भन्छन्, “हाम्रो लक्ष्य नागरिकको हात–हातमा सेवा पुर्‍याउने हो । डिजिटल प्रविधिले समय बचत मात्र होइन, विश्वास पनि बढाएको छ ।”

नगरपालिकाले एकातिर नागरिकसँगको प्रत्यक्ष दोहोरो संवादलाई सुदृढ गरिरहेको छ, अर्कोतर्फ प्रविधिकेन्द्रित शासनलाई संस्थागत पनि बनाउँदै छ । प्रविधिको प्रयोग बढेसँगै सेवा प्राप्तिका क्रममा हुने अनावश्यक ढिलाइ, कागजी झन्झट र पारदर्शिताका प्रश्न क्रमश: न्यून हुँदै गएको अनुभूति नागरिकले पनि गर्न थालेका छन् ।

प्रविधितर्फको यात्रा
मुलुककै संघीय राजधानी रहेको काठमाडौँ महानगरपालिकासँग सिमाना जोडिए पनि भौगोलिक बनावट, पूर्वाधारको उपलब्धता र सेवाको पहुँचका हिसाबले बुढानीलकण्ठ नगरपालिका लामो समयसम्म विकट झैँ थियो । अनि सेवाका हिसाबले त्यहाँ कैयौँ असमानता विद्यमान थिए । दुर्गम भन्न मिल्ने पहाडी बस्तीदेखि शहरनजिकका घना बस्तीसम्म फैलिएको नगरपालिकाभित्र सेवा वितरण एकनासको बनाउन अनेक कठिनाइ थिए । यही अवस्था बुझेरै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि पछिल्ला वर्षहरूमा सूचना प्रविधिको द्रुत बिस्तार गर्न थालियो ।

अहिले नगरपालिकाका १३ वटै वडा कार्यालय, ११ वटा स्वास्थ्य संस्था र १९ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । यसले प्रशासनिक कामकाजदेखि सार्वजनिक सेवा, विद्यालय व्यवस्थापन र स्वास्थ्य सेवा सञ्चालनसम्ममा नयाँ उर्जा थपिएको छ ।

अहिले नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालयमा ई-हाजिरी प्रणाली लागू भइसकेको छ । कर्मचारीमा यसले पारदर्शिता र उत्तरदायित्व बढाएको छ, अनि अनुशासन कायम गरेको छ । “पहिले कागजी प्रक्रियामा समय धेरै लाग्थ्यो, अब वास्तविक समयमै तथ्यांक हेर्न र विश्लेषण गर्न सकिने भएको छ,” नगरपालिकाका एक कर्मचारीले सुनाए ।

हुन पनि नगरपालिकाले प्रविधिलाई प्रशासनिक दक्षताको औजार मात्र बनाएको छैन, बरु नागरिकमैत्री सेवाको मेरुदण्डका रूपमा यसलाई विकास गरेको छ । अनलाइनमार्फत सेवाका लागि आवेदन, कागजात प्रमाणीकरण, कर तथा दस्तुर भुक्तानी, योजनाको प्रगति मापन जस्ता काम हुन थालेका छन् । नगरपालिकाले डिजिटल शासनलाई नागरिकको समय, पैसा र श्रम बचत गर्ने माध्यमका रूपमा अंगीकार गरेको छ र काठमाडौँ उपत्यकामा पछिल्लो समय द्रूत गतिमा प्रविधिको प्रयोग र अभ्यास गर्ने नगरपालिकाको सूचीमा बुढानीलकण्ठ पनि अगाडि आएको छ ।

नगरपालिकाको सूचना तथा प्रविधि शाखाका अधिकृत शान्त पौडेल नगरपालिकाले सूचना प्रविधिको प्रयोगलाई सुदृढ बनाउँदै जनसेवामा प्रवाह हुने कामलाई डिजिटल रूपान्तरण गर्ने गतिविधि तीब्र पारेको बताउँछन् । नगरपालिका कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, स्वास्थ्य कार्यालय तथा नगर अस्पतालसहित २५ वटा कार्यालयमा कर्मचारीको व्यक्तिगत प्रोफाइलसहित दैनिक हाजिरी पूर्ण रूपमा ई-हाजिरी प्रणालीमार्फत हुँदै आएको उनले बताए । सोही प्रणालीमार्फत कर्मचारीहरूको बिदा तथा कामकाजसम्बन्धी विवरण पनि दैनिक रूपमा अद्यावधिक भइरहेको छ ।

पौडेलका अनुसार दर्ता–चलानी प्रक्रियालाई समेत पूर्णरूपमा डिजिटल रूपान्तरण गर्दै अनलाइन दर्ता–चलानी प्रणाली लागू गरिएको छ । घर निर्माण गर्दा नक्सा पास गर्नेलगायत २०७३ सालदेखिका पुराना फाइल स्क्यान गरेर डिजिटल ढङ्गले सुरक्षित राख्ने काम निरन्तर अघि बढिरहेको पनि उनले जानकारी दिए ।

अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको परिचयपत्रलाई क्युआरसहितको स्मार्ट कार्डमा रूपान्तरण गरी वितरण गर्न थालिएको छ । नगरवासीलाई नगरपालिकाबाट प्रदान हुने सेवामा सहज पहुँच उपलब्ध गराउन मोबाइल एप विकास गरिएको छ । पौडेलले सो एपमार्फत नगरपालिका सम्बन्धी सूचना, सेवा विवरण, जनप्रतिनिधि तथा कर्मचारीका सम्पर्क सूचीलगायत विविध जानकारी उपलब्ध गराउने गरिएको बताए ।

त्यस्तै नगरपालिकामा हुने विभिन्न बैठक सम्बन्धी सूचनालाई समयमै सम्प्रेषण गर्न बल्क एसएमएस सेवाको प्रयोग गर्न पनि शुरु गरिएको छ । कार्यपालिकाबाट हुने निर्णय तथा नगरपालिकाको समीक्षाबाट बनेका कानूनहरू पनि मोबाइल एप र वेबसाइटमार्फत सार्वजनिक गर्न थालिएको छ ।

घरघरमा इन्टरनेट, डिजिटल पहुँचको नयाँ नक्सा
नगरपालिकाभित्र डिजिटल पूर्वाधार निर्माण र बिस्तार पनि तीव्र गतिमा भइरहेको छ । नागरिकको जीवनस्तर सुधार्न, सूचनामा पहुँच बढाउन र यीलगायत सामाजिक रूपान्तरणमा इन्टरनेटको उपलब्धतालाई महत्त्वपूर्ण सूचक मानिन्छ । यही सूचकका आधारमा हेर्दा राष्ट्रिय जनगणना २०७८ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा बुढानीलकण्ठ नगरपालिका डिजिटल पहुँचको सूचकमा सुदृढ देखिएको छ ।

जसअनुसार नगरपालिकाका ७९.९२ प्रतिशत परिवार अहिले इन्टरनेट सेवामा जोडिएका छन् । यो आँकडाले बुढानीलकण्ठले काठमाडौँ उपत्यकाका नगरपालिकाहरुमध्ये डिजिटल उपलब्धता बिस्तारमा अग्रस्थान लिनथालेको संकेत गर्छ ।
इन्टरनेटसँगै स्मार्ट उपकरण प्रयोगको स्तर अझ उत्साहजनक छ । ९४.८६ प्रतिशत घरधुरी स्मार्टफोन र स्मार्ट इन्टरनेटको पहुँचमा रहेको आँकडा पालिकाले नै तयार पारेको छ । स्मार्टफोन प्रयोगको तीव्र विस्तारले सूचना, शिक्षा तथा सेवासम्बन्धी कार्यलाई सहज र छिटो बनाएको नगरवासीहरु नै बताउँछन् ।

त्यस्तै, नगरपालिकाका ७१.३९ प्रतिशत परिवारमा टेलिभिजन सेवा पुगेको छ । यसले सञ्चारमाध्यमको पहुँच टोलसम्म बलियो बन्दै गएको पुष्टि गर्छ ।

इन्टरनेट सेवा गाउँ-गाउँमा बिस्तार भएपछि बुढानीलकण्ठका युवाले रोजगारीका नयाँ अवसर भेट्टाउन थालेका छन् । अनलाइन व्यवसाय, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङजस्ता क्षेत्रमा यहाँका युवा क्रमश: बढिरहेका छन् ।

पहिले इन्टरनेट कमजोर भएकाले अनलाइन मार्फत काम गर्न कठिनाइ हुने गरेको थियो । अहिले पालिकाभर उच्च गतियुक्त इन्टरनेट सेवा उपलब्ध भएपछि घरमै बसेर काम गर्ने वातावरण तयार भएको छ । “काठमाडौँ शहरमै बसेर काम गरेजस्तै सुविधा अहिले आफ्नै पालिकामा पाइन्छ,” एक स्थानीय युवाले भने ।

डिजिटल सुविधाको बिस्तारले दैनिक जीवन मात्र सहज बनाएको छैन, यसले नयाँ आर्थिक अवसर पनि सिर्जना गरिरहेको छ ।

अनलाइनबाटै घरको नक्सा पास र रकम भुक्तानी
बुढानीलकण्ठ नगरपालिकाले नगरवासीका लागि घरको नक्सा पास गर्ने प्रक्रियालाई पूर्ण रूपले अनलाइनमा आधारित बनाएको छ । र अनलाइनमा आधारित यो सेवा नगरपालिका अन्तर्गतका १३ वटै वडा कार्यालयबाट उपलब्ध हुन थालेको छ ।

पहिले पहिले घरको नक्सा पास गर्नका लागि नगरवासीले तीन–चारपटक वडा कार्यालय दौडिनुपर्ने बाध्यता थियो । त्यहाँ पुगेर कागजात बुझाउने, ती कागजात जाँचका लागि लामो समय पर्खनुपर्ने र भुक्तानी गर्नका लागि बारम्बार कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाले समय र श्रम दुबै हिसाबले ठूलो हैरानी खेप्नुपर्ने हुन्थ्यो । अहिले नगरपालिकाले यो सेवा पूर्ण रूपमा अनलाइनमा उपलब्ध गराएसँगै त्यो हैरानी हटेको छ । नगरवासीले सारा कागजात स्क्यान गरी डिजिटल रूपमा अपलोड गर्न सक्छन् । ती कागजात कहाँ पुगे र काम कहाँ पुगेको छ भनेर हेर्ने ट्रयाकिङ प्रणाली पनि छ । यो प्रणालीबाट नगरवासीले आफ्नो काम कति भयो भन्ने जानकारी पाउँछन् ।

यसले पारदर्शिता मात्र बढाएको छैन, सेवा लिने क्रमलाई पनि द्रूत र सुविधाजनक बनाएको छ ।

नगरपालिकाबाट प्रवाह हुने अन्य धेरै सेवा पनि क्रमश: अनलाइनमा आधारित हुँदै गएका छन् । यसले नगरवासीको समय र श्रम मात्र बचत गरेको छैन, प्रक्रिया सहज बनेको छ र नगरपालिकाका कामकारबाही थप पारदर्शी बनेका छन् । “पहिला नक्सा पास गर्न कार्यालय धाउँदा निकै झन्झट ब्यहोर्नु पथ्र्यो, अहिले घरमै बसेर डकुमेन्ट अपलोड गरेपछि काम हुन्छ । छिटो पनि र सजिलो पनि भएको छ,” एक स्थानीयले भने ।

नगरपालिकामा सूचना प्रविधिसम्बन्धी सीप विकासका लागि शाखा तथा वडा कार्यालयका कर्मचारीहरूलाई तालिम र सीप हस्तान्तरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । घरको नक्सा पास प्रक्रियालाई १३ वटै वडामा पूर्णरूपमा अनलाइनमार्फत् सञ्चालनमा ल्याइएको सूचना तथा प्रविधि शाखाका अधिकृत शान्त पौडेलले बताए ।

डिजिटल सेवाको यो विस्तारले प्रशासनिक कामकाजलाई छिटो मात्र बनाएको छैन, यसले नागरिकको सुविधाकेन्द्रित सेवा प्रवाहको जग बसाएको छ ।

श्रम र रोजगार बजारदेखि भ्याक्सिन सेवासम्म
बुढानीलकण्ठ नगरपालिकाले सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउनेगरी शुरु गरेका डिजिटल सेवाको सूची लामो बनिसकेको छ। खोज्दै जाँदा के चाहिँ सेवा पो डिजिटल छैन भनेर हेर्नुपर्ने हुन्छ । अर्थात् यी थुप्रै सेवाले टुक्रा-टुक्रामा होइन, बरु एकीकृत डिजिटल शासन संरचना खडा हुँदै गरेको देखाउँछन् । तीमध्ये केही यसप्रकार छन्:
ई-हाजिरी
हेलो सरकार प्रणाली
रोजगार व्यवस्थापन सूचना प्रणाली
सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली
अनलाइन बोलपत्र प्रणाली
राजस्व भुक्तानी: नगदी रसिद तथा सम्पत्तिकर
स्थानीय सञ्चित कोष व्यवस्थापन (सूत्र)
स्थानीय संस्था क्षमता स्वमूल्याङ्कन
डिजिटल डिस्प्ले
विशेष/समपूरक अनुदान कार्यक्रम पोर्टल
वित्तीय सुशासन जोखिम मूल्याङ्कन
नेपाल लेखापरीक्षण व्यवस्थापन
सार्वजनिक सम्पत्ति व्यवस्थापन
किसान सूचीकरण
सामाजिक सूचना व्यवस्थापन
दर्ता/चलानी/सिफारिस प्रणाली
भ्याक्सिन प्रमाणपत्र
बुढानीलकण्ठ न्यूज पोर्टल
इजलास व्यवस्थापन
परिचयपत्र तथा अपाङ्गता/ज्येष्ठ नागरिक प्रणाली
अनलाइन करदाता पोर्टल
श्रम बजार व्यवस्थापन
प्रधानमन्त्री रोजगार कार्यक्रम
वृत्ति मार्गनिर्देशन प्रणाली

समग्रमा हेर्दा यी सेवाका प्रणाली ती प्रणाली हुन् जसले क्रमश: नगरपालिकालाई ‘स्मार्ट प्रशासन’को मोडलतर्फ डोर्याएका छन् । यसले कर्मचारीहरुलाई काम गर्न पनि धेरै नै सहज भएको छ ।

बदलिँदो प्रशासन, बदलिँदो दैनिक जीवन
हिजो नगरपालिका कार्यालयबाट लिनुपर्ने सेवाका लागि नगरवासी बिहानदेखि बेलुकासम्म लाइन बस्नुपर्ने अवस्था थियो । आवश्यक कागजात र चलानीका लागि दौडधुप पनि उत्तिकै गर्नुपथ्र्यो । कतै फोटोकपी गर्नुपर्ने चटारो, कतै हस्ताक्षर जुटाउनुपर्ने झन्झट । यस्ता कुराले सेवाग्राही हैरान हुन्थे । अहिले यसको ठाउँ डिजिटल प्रणालीले लिएको छ, ती सबै झन्झट हटेका छन् ।
नगरपालिकाले अनलाइन प्रणाली र नजिकैका वडा कार्यालयमार्फत सबै प्रकारका सेवाहरू उपलब्ध गराएको छ । धेरैजसो सिफारिसहरू अनलाइन आवेदनबाटै लिन सकिन्छ भने घटना दर्ताको प्रक्रिया पनि छिटो हुन्छ ।सामाजिक सुरक्षा भत्ता भुक्तानीसमेत डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

नगरपालिकाभर इन्टरनेट सेवा विस्तार भएपछि विद्यालयहरूमा अनलाइन सिकाइ सामग्री प्रयोग गर्न थालिएको छ । विद्यार्थीले डिजिटल उपकरणहरू सञ्चालन गर्न सिकेका छन् र यसले शिक्षालाई आधुनिक ढाँचामा लैजान योगदा गरेको छ ।नगरपालिकाभित्रको विद्यालयका एक शिक्षकले भने, “विद्यार्थीहरूले डिजिटल उपकरणमा दक्षता हासिल गरेका छन्, जसले उनीहरूको सिकाइ प्रक्रियालाई सजिलो बनाएको छ र शिक्षामा नवीनता पनि भित्र्याएको छ ।”

भविष्यका योजनालाई ध्यानमा राखेर पनि नगरपालिकाले विभिन्न तयारी गरिरहेको छ । जस्तो, आउँदा वर्षहरूमा स्वास्थ्य सेवा डिजिटल ड्यासबोर्ड, नागरिक सूचना एकीकृत पोर्टल, डिजिटल ट्राफिक व्यवस्थापन, हरित-स्मार्ट बस्ती निर्माण, ई-पेमेन्ट प्रणालीको पूर्ण कार्यान्वयन, अपाङ्गतामैत्री डिजिटल प्रणाली र स्थानीय पर्यटन प्रवद्र्धन पोर्टल जस्ता योजनाहरू लागू गर्ने तयारीमा नगरपालिका जुटेको छ ।

यसको प्रभाव, नगरपालिकाको सेवा प्रवाहमै उल्लेख्य सुधार देखिएको छ । पहिले सेवा प्राप्त गर्न नगरपालिका भवनसम्म पुग्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, ज्येष्ठ नागरिक वा अपांगता भएका व्यक्तिहरुले भोग्नुपर्ने सास्ती लगभग अन्त्य नै भएको छ । नगरवासी भन्नथालेका छन्, “अब कार्यालय जानु पर्दैन, सेवा नजिकै आउँछ ।” डिजिटल सेवा प्रणालीले सेवाप्रति नागरिकमा सन्तुष्टि पनि बढाएको छ ।

डिजिटल सुशासनको प्रतिबद्धता
सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै अघि बढिरहेको बुढानीलकण्ठ नगरपालिका विद्युतीय सुशासनतर्फको यात्रामा अघि बढ्ने क्रममा छ । आफ्ना मुख्य प्रशासनिक भवन र सबै वडा कार्यालयबाट प्रदान हुने सेवामा डिजिटल प्रणालीको व्यापक प्रयोग गरिरहेको नगरपालिकाले अब यहीमार्फत् नागरिकमैत्री सेवामा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाले डिजिटल सुरक्षा प्रणालीसमेत सुदृढ पार्न सीसीटीभी जडानको कामलाई बिस्तार गरिरहेको छ । त्यस्तै, सबै स्थायी संरचना, भवन, पार्क र खुला स्थानको तथ्याङ्क एकीकृत डिजिटल अभिलेखमा राख्ने तयारी गरेको छ । त्यहीक्रममा नागरिकको सहजताका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नगरपालिका सेवा ‘च्याटबट’ पनि सञ्चालनमा ल्याएको छ ।

कर तिर्ने राजस्व प्रणालीदेखि भुक्तानीका सबै काम अनलाइनमै गर्ने कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रयास पनि भइरहेको छ । नगरपालिकाका सबै कर्मचारीलाई समय–समयमा प्रविधिमैत्री तालिम पनि दिने गरिएको छ । नगरपालिकाले ‘हेलो बुढानीलकण्ठ’ कक्ष र श्रम डेस्क सञ्चालन गर्दै तिनलाई थप स्तरीकरण र व्यवस्थित गर्ने योजनासमेत बनाएको छ । विद्यालयमा प्रविधि शिक्षा, शिक्षालयहरूको अभिलेख, संस्थाहरूको अभिलेख, योजना सम्झौता तथा अनुगमन, न्यायिक समितिको कामकारबाहीलगायतका विवरण डिजिटल माध्यमबाट व्यवस्थित गरिनुका साथै श्रम बजार तथा रोजगार व्यवस्थापन पोर्टललाई थप प्रभावकारी बनाउने पहल पनि नगरपालिकाले गरिरहेको छ ।

नगरपालिकाले विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको सहभागिता सुनिश्चित गर्दै सञ्चारग्राम व्यवस्थापन पनि गरिरहेको छ । स्थानीय श्रमजीवी सञ्चारकर्मीहरूलाई तालिम, अध्ययन तथा अनुसन्धानमा सहभागी गराउने, उनीहरूको पेशागत दक्षता अभिवृद्धि र सुरक्षा सुनिश्चित गर्न सरोकारवाला पक्षहरूसँग समन्वय गरी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने योजना पनि नगरपालिकाले बनाएको छ । त्यस्तै, नगरपालिकाको वेबसाइट, न्युज पोर्टल र सामाजिक सञ्जाललाई रचनात्मक, अन्तरक्रियात्मक र क्रियाशील बनाउने योजना पनि अघि बढाइँदै छ । वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य कार्यालयहरूबाट प्राप्त क्रियाकलाप, लेखांकन, खर्च अभिलेख र तथ्यांक सफ्टवेयर मार्फत व्यवस्थित गरिनेसमेत पालिकाले जनाएको छ ।

तर सबैका लागि पहुँच अझै पनि चुनौतीपूर्ण
बुढानीलकण्ठ नगरपालिका डिजिटल रुपान्तरणमा अग्रणी देखिए पनि यो यात्रामा अझै केही चुनौती बाँकी नै छन् । जस्तो, नगरवासीको जीवनयापन सहज बनाउने उद्देश्यका बाबजुद सबै नागरिकले डिजिटल सेवामा समान पहुँच पाएका छैनन् । विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, प्रविधिलाई प्रयोग गर्न नजान्ने (वा निरक्षर) व्यक्तिहरू र ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु अझै पनि यस्ता सेवाको दायराबाट बाहिरै छन् ।

त्यस्तै, डिजिटल प्रणालीमा निर्भरता बढेसँगै डेटा सुरक्षा, साइबर सुरक्षा र प्रणालीको स्थायित्व सुनिश्चित गर्नु चुनौतीपूर्ण बनेको छ । कुनै पनि समयमा इन्टरनेटमा समस्या आउन सक्ने, सर्भर डाउन हुनसक्ने वा नेटवर्क अवरोधले सेवामा बाधा पुर्‍याउन सक्ने सम्भावना जहिल्यै रहन्छ । यसबाहेक नगरपालिकाले आफ्ना कर्मचारीलाई प्रविधिकेन्द्रित प्रशासनमा दक्ष बनाउने, डिजिटल प्रणालीको निरन्तर अनुगमन गर्ने र समय–समयमा अपडेट गर्ने काम पनि चुनौतीपूर्ण देखेको छ । साथै, नयाँ प्रविधि र परम्परागत प्रणालीबीच सन्तुलन कायम राख्नु, नागरिकमा विश्वास बढाउनु र सबै वर्गका लागि सेवामा समान पहुँच सुनिश्चित गर्नु पनि कम चुनौतीपूर्ण छैन ।

डिजिटल रूपान्तरणले बुढानीलकण्ठ नगरपालिकालाई सुशासन र पारदर्शिताको नयाँ मोडलका रुपमा स्थापित गर्दै गए पनि यो यात्रामा सामाजिक समावेशीकरण, सुरक्षा र दिगो विकास सुनिश्चित गर्ने कार्य निरन्तर आवश्यक रहनेछ । यति हुँदाहुँदै पनि नगरपालिकाले डिजिटल रूपान्तरणमा बनाइरहेको अग्रणी पहिचानले परम्परागत प्रशासनिक संरचनामा मात्र होइन, स्थानीय शासनको समग्र दृष्टिकोणमा पनि बदलाव ल्याइरहेको छ । ‘हातैमा सेवा’ अभियानले नागरिकलाई राज्यसँग सिधा जोडेको छ । भ्रष्टाचार न्यूनीकरण भएको छ । स्मार्टफोन र डिजिटल उपकरणको व्यापक प्रयोगले शिक्षा, व्यवसाय, कृषि, स्वास्थ्य र रोजगारका अवसरहरूमा नयाँ दिशा थपिएको छ । साना व्यवसायीहरू डिजिटल मार्केटिङ, अनलाइन भुक्तानी र व्यापार व्यवस्थापनमार्फत आफ्नो उत्पादन र सेवा प्रवद्र्धन गर्न सक्षम भएका छन् जसले स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउँदै दीर्घकालीन दिगो विकासमा सहयोग पुर्‍याउँदै छ ।

डिजिटल रूपान्तरणलाई समावेशी र पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने, “अब कार्यालय धाउनुपर्ने दिन गए । प्रविधिको सहज प्रयोगले पारदर्शी, छिटो र समावेशी सेवा दिने हाम्रो प्रतिबद्धता पूरा हुँदैछ ।”

स्थानीय सरकार जिम्मेवार, पारदर्शी र नवप्रवर्तनशील दृष्टिकोणसहित अघि बढ्दा नागरिकको जीवनस्तरमै सुधार ल्याउन सकिन्छ भन्ने उदाहरण बनेको छ बुढानीलकण्ठ नगरपालिका ।