काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गम्भीर आपत्ति जनाएको छ।
प्रधानमन्त्री शाहले नेपालले पनि भारततर्फ केही स्थानमा भूमिसम्बन्धी असर पारेको आशय व्यक्त गरेको विषयलाई एमालेले राष्ट्रिय हित र स्थापित कूटनीतिक अडान विपरीत भएको टिप्पणी गरेको छ। पार्टीले यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको आधिकारिक दाबी कमजोर पार्ने र राष्ट्रिय एकतामा असर पार्ने दाबी गरेको छ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उक्त भनाइले नेपालको दीर्घकालीन कूटनीतिक स्थितिमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा यस प्रकारको धारणा प्रति कडा विरोध जनाउँदै पार्टीले त्यसलाई अस्वीकार्य र निन्दनीय भनेको छ।
एमालेले प्रधानमन्त्रीले सीमा विवादसँग सम्बन्धित विषयमा तेस्रो पक्षीय ऐतिहासिक सन्दर्भ जोडेकोप्रति पनि असन्तुष्टि जनाएको छ। पार्टीका अनुसार सीमा समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै ब्रिटिस भारत वा बेलायतसँग सम्बन्धित प्रसंग उठाउनु विषयवस्तुबाट विचलन मात्र नभई कूटनीतिक दृष्टिले अपरिपक्वता हो।







