काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार चितवनमा महाधिवेशनको बन्द सत्रको उद्घाटन गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट, उपगुट तथा प्यानल बनाएर प्रतिस्पर्धामा नउत्रन निर्देशन दिएको हो ।
पार्टीले कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगरेको उल्लेख गर्दै सभापति लामिछाने पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्नसमेत आग्रह गरे । महाधिवेशन अगावै पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरेको भन्दै सभापति लामिछानेले अब महिमागान गाएर नभई परिणाममा जोड दिनुपर्ने बताए ।
साथै उनले शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उनले बताए । उनले पार्टीभित्रका गुनासो हलभित्र छलफल गर्नुपर्ने बताउँदै सडकमा तमासा देखाउन नहुने बताएका छन् ।







