काठमाडौँ । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ पुन: देशभरकै उत्कृष्ट ठहरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजाअनुसार कुल १८.२५ पूर्णाङ्कमध्ये मनाङले १८ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो। दोस्रो स्थानमा म्याग्दी १७.८७५ अंकसहित रहेको छ भने भक्तपुर र रसुवा समान १७.६२५ अंकसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्।
यसैगरी पाँचौँ स्थानमा मकवानपुर र स्याङ्जा रहेका छन्। मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ २.५ अंकसहित ७६औँ स्थानमा रहेको छ भने धनुषा १.६८७५ अंकसहित अन्तिम अर्थात् ७७औँ स्थानमा परेको छ।
लगातार तेस्रो त्रैमासिकसम्म पनि उत्कृष्ट नतिजा हासिल गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले ‘ह्याट्रिक’ पूरा गरेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षका पहिलो, दोस्रो र तेस्रो–तीनवटै त्रैमासिक मूल्यांकनमा देशकै उत्कृष्ट जिल्ला प्रशासन कार्यालय बन्न सफल भएको हो।
उपसचिव पौड्याललाई गृह मन्त्रालयले २०८२ भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो। मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो।
अष्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिस्टसमेत रहेका पौड्याल गृह प्रशासनका नतिजामुखी तथा गतिशील युवा प्रशासकका रूपमा चिनिन्छन्। गृह मन्त्रालयसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूको प्रभावकारी कार्यान्वयन, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा जिल्लास्थित सबै सरकारी निकायबीचको समन्वय र सामूहिक प्रयासका कारण लगातार उत्कृष्ट नतिजा हासिल भएको उनी बताउँदै आएका छन्।
यसअघि सार्वजनिक पहिलो त्रैमासिक कार्यसम्पादन मूल्यांकनमा मनाङले २९.२५ पूर्णाङ्कमध्ये २८.७५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। त्यसपछि दोस्रो त्रैमासिक मूल्यांकनमा २०.२५ पूर्णाङ्कमध्ये १९.५ अंक प्राप्त गर्दै पुन: देशकै उत्कृष्ट बनेको थियो। अब तेस्रो त्रैमासिक मूल्यांकनमा पनि शीर्ष स्थान कायम राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले लगातार तीन त्रैमासिक उत्कृष्ट हुने दुर्लभ उपलब्धि आफ्नो नाममा दर्ज गरेको छ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली तथा अन्य निर्धारित सूचक र मापदण्डका आधारमा प्रत्येक त्रैमासिक नियमित रूपमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।







