काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ ।
मन्त्रालयले यही असार २६ गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ (३) अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो ।
निर्देशनमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्ने छ ।
मन्त्रालयले चलचित्र निर्माता, वितरक तथा सरोकार भएका अन्यले ऐनको उक्त प्रावधानको पूर्ण पालना गर्नुपर्ने भन्दै जाँचका क्रममा ऐनविपरीतका विषयवस्तु समावेश भएका चलचित्र प्राप्त भएमा प्रदर्शन अनुमति दिन नसकिने जनाएको छ ।
साथै, उक्त व्यवस्था सबै निर्माता, वितरक तथा सम्बन्धित पक्षलाई जानकारी गराई आवश्यक समन्वय गर्न चलचित्र विकास बोर्डलाई अनुरोध गरिएको छ ।







