काठमाडौँ । लोक सेवा आयोगले पदपूर्ति प्रक्रियामा ‘प्रोसेस रि-इन्जिनियरिङ’ लागू गर्दै नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले नयाँ कार्यतालिकामार्फत पदपूर्तिको सम्पूर्ण प्रक्रिया एउटै आर्थिक वर्षभित्र सम्पन्न गर्ने व्यवस्था अघि बढाएको जनाएको छ।
नयाँ कार्यतालिका अनुसार अब सबै पदका विज्ञापनदेखि अन्तिम सिफारिससम्मका सम्पूर्ण प्रक्रिया सोही आर्थिक वर्षभित्र, अर्थात् असार मसान्तसम्म सम्पन्न गरिनेछ। यसअघि वार्षिक कार्यतालिका भनिए पनि व्यवहारमा अर्को आर्थिक वर्षसमेत समेटिने गरी करिब १६ महिनाको कार्यतालिका सञ्चालन हुँदै आएको थियो। अब भने आयोगले सम्पूर्ण प्रक्रिया १२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ।
आयोगले प्रत्येक वर्ष भदौ महिनाको अन्तिम बुधबारदेखि विज्ञापन प्रक्रिया सुरु गर्ने व्यवस्था गरेको छ। यससँगै सहसचिव र उपसचिव पदको विज्ञापन तालिकामा पनि परिवर्तन गरिएको छ। यसअघि दुवै पदको विज्ञापन असोज महिनामा हुँदै आएकोमा अब सहसचिव पदको विज्ञापन भदौमै र उपसचिव पदको विज्ञापन असोजमा प्रकाशित गरिनेछ।
त्यस्तै, अब एउटै श्रेणीका सबै पद (प्राविधिक र अप्राविधिक) को विज्ञापन एउटै मितिमा प्रकाशित गरिने आयोगको कार्यतालिकामा उल्लेख छ। यसबाट पदपूर्ति प्रक्रियालाई थप व्यवस्थित र समन्वित बनाउने अपेक्षा गरिएको छ।
आयोगले सबै पदका लिखित परीक्षा वर्षायाम सुरु हुनुअघि नै सम्पन्न गर्ने व्यवस्था पनि गरेको छ। साथै, पहिलो चौमासभित्रै उपसचिव तहसम्मका लिखित परीक्षा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसबाट अधिकृत तहका कर्मचारी परीक्षा तयारीमा लामो समय व्यस्त हुँदा नियमित सरकारी कामकाज प्रभावित हुने अवस्थालाई न्यून गर्ने उद्देश्य राखिएको छ।
नयाँ कार्यतालिकाले दशैं–तिहार बिदाको अवधिलाई अध्ययन र परीक्षा तयारीका लागि उपयोग गर्ने अवधारणा पनि अघि सारेको छ।
आयोगले संगठित संस्था र सुरक्षा निकायका लागि समेत छुट्टाछुट्टै कार्यतालिका तय गरेको छ। त्यसअन्तर्गत संगठित संस्थाका सहायक स्तरका पदको पूर्वयोग्यता परीक्षा साउन महिनामै सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
आयोगको नयाँ कार्यतालिका पदपूर्ति प्रक्रियालाई समयबद्ध, पूर्वानुमानयोग्य र प्रभावकारी बनाउने उद्देश्यसहित लागू गरिएको हो।







