कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिको मूल्यांकनमा योग्यता क्रमको पहिलो नम्बरमा रहेका प्राडा जितेन्द्र परियार निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्त भएका छन्।
काठमाडौँ । निजामती कर्मचारी अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिको योग्यता क्रममा पहिलो नम्बरमा रहेका परियारलाई उक्त पदमा नियुक्त गर्ने निर्णय भएको जनाएको छ।
अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि मन्त्रालयले २०८३ असार ५ गते सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो।
प्राप्त आवेदनमध्ये उम्मेदवारहरूको मूल्यांकन गरी सिफारिस समितिले साउन ३ गते नियुक्तिका लागि नाम सिफारिस गरेको थियो। समितिको मूल्यांकन तथा सिफारिसमा परियार योग्यता क्रमको पहिलो नम्बरमा परेका थिए।
अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयअनुसार परियारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय उनको नियुक्तिलाई लिएर विभिन्न प्रश्न तथा आलोचना उठेका थिए। कार्यकारी निर्देशक पदका लागि संक्षिप्त सूचीमा परेसँगै नेपाल मेडिकल काउन्सिलले गरेको कारबाही र उपचारसँग सम्बन्धित गम्भीर विवादका विषयसमेत चर्चामा आएका थिए।








