काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले यसअघि दर्ता गरिएको अविश्वास प्रस्तावप्रतिको आफ्नो अडान कायम राख्ने निष्कर्ष निकालेको हो। नेकपा र नेपाली काँग्रेसका १६ जना प्रदेश सभा सदस्यले यसअघि नै मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार पार्टीले पूर्वनिर्धारित सहमतिअनुसार अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयलाई निरन्तरता दिएको छ। उनले प्रस्ताव दर्ता भइसकेपछि त्यसबाट पछि हट्ने कुनै आधार नरहेको बताएका छन्।
यसबीच संघीय स्तरमा नेकपा र नेकपा एमालेबीच कर्णालीको सत्ता समीकरणबारे छलफल चलिरहेको चर्चा भए पनि प्रदेश संसदीय दलले त्यस्ता अनौपचारिक छलफलले आफ्नो निर्णयमा असर नपर्ने स्पष्ट पारेको छ।
प्रमुख सचेतक जिसीले पार्टीबाट औपचारिक निर्णय आए त्यसलाई स्वीकार गरिने भए पनि छलफल मात्रका आधारमा प्रदेशस्तरको निर्णय परिवर्तन नहुने बताएका छन्। उनले वर्तमान अवस्थामा पार्टीको दृष्टिकोण सर्वदलीय सरकार निर्माणतर्फ उन्मुख रहेको पनि उल्लेख गरेका छन्।
गत बिहीबार नेपाली काँग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ।







