विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई नेपाली काँग्रेसले पुर्याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा आज स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि काँग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन्।
उनले काँग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक एवं रचनात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास तथा समृद्धिका लागि नेपाली काँग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि काँग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
यसैबीच, नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राखेका छन् ।
कोशी प्रदेश सरकारमा नेपाली काँग्रेसका एक राज्यमन्त्रीसहित पाँच जनाको सहभागिता रहेको थियो । मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।






