काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेकी ज्योति महतको उपचार, न्याय तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएकी छन्।
मन्त्री बादीले शुक्रबार महतसँग भेट गरी उनको स्वास्थ्य अवस्था, उपचारमा देखिएका समस्या र आगामी आवश्यकताबारे जानकारी लिएकी हुन्। भेटमा महतले आफूले भोगेको यौन हिंसाका विषयमा समेत मन्त्रीलाई जानकारी गराएकी थिइन्।
महतको अवस्था बुझेपछि मन्त्री बादीले आवश्यक उपचार र स्वास्थ्य सेवामा पहुँचका लागि पहल गर्ने बताइन्। यौन हिंसासम्बन्धी विषयमा न्याय प्राप्तिका लागि सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गरिने पनि उनले उल्लेख गरिन्।
मन्त्री बादीले महतको दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरताका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर उपलब्ध गराउन आवश्यक पहल गर्ने बताइन्।
‘राज्यको जिम्मेवारी उपचार गराएर मात्र पूरा हुँदैन,’ मन्त्री बादीले भनिन्, ‘पीडित नागरिकलाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्नुका साथै आत्मनिर्भर बन्ने अवसर र सम्मानपूर्वक जीवन जिउने वातावरण निर्माण गर्नु पनि राज्यको दायित्व हो।’
उनले महतको स्वास्थ्य, पुनर्स्थापना र न्यायका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयका अधिकारीलाई निर्देशनसमेत दिएकी छन्।
भेटमा महतले आफ्नो अवस्थाप्रति चासो राख्दै उपचार, न्याय र भविष्यका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै मन्त्री बादीप्रति आभार व्यक्त गरिन्।
मन्त्रालयले प्रभावित तथा जोखिममा रहेका नागरिकको उपचार, संरक्षण, न्यायमा पहुँच, पुनर्स्थापना, सामाजिक सुरक्षा र आत्मनिर्भरताका लागि उपलब्ध सरकारी संयन्त्र प्रभावकारी रूपमा परिचालन गरिने जनाएको छ।






