जाजरकोट । जाजरकोटमा साउन ३० गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट चार जनाको मृत्यु भएको छ। घाइतेमध्ये ११ जनाको जाजरकोट, सुर्खेत र नेपालगन्जका अस्पतालमा उपचार भइरहेको छ। पहिरोबाट विस्थापित तथा प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बाढीले बगाएका तीन जनाको शव फेला परेको थियो। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको र अन्त्येष्टि भइसकेको छ। उपचारका लागि नेपालगन्ज रेफर गरिएका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको अधिकारीले जानकारी दिए।
११ जनाको तीन स्थानमा उपचार
बाढी पहिरोमा घाइते भएकामध्ये दुई जनाको सुर्खेत र दुई जनाको नेपालगन्जमा उपचार भइरहेको छ। सात जनाको जाजरकोट अस्पतालमा उपचार जारी रहेको प्रशासनले जनाएको छ।
पहिरोबाट विस्थापित तथा प्रभावित सबैजना सुरक्षा निकायको सम्पर्कमा आएको र उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।
विद्यालयमा अस्थायी बसोबास, हेल्थ डेस्कको व्यवस्था
उद्धार गरिएका प्रभावितलाई तत्कालका लागि विद्यालयमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी), जिल्ला विपद् व्यवस्थापन समिति, भेरी नगरपालिका, सेभ द चिल्ड्रेन र नेपाल रेडक्रस सोसाइटीसँग उपलब्ध सामग्री परिचालन गरी अस्थायी व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।
अस्थायी बसोबासस्थलमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क), खानेपानी र सुरक्षाको व्यवस्था गरिएको छ।
प्रारम्भिक तथ्यांकअनुसार करिब २०० परिवारका झन्डै ८०० जनाका लागि भेरी नगरपालिकाले खानाको प्रबन्ध गरेको छ। प्रभावितका लागि आवश्यक थप राहत सामग्री संघीय गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको समन्वयमा सुर्खेतस्थित गोदामबाट जाजरकोटतर्फ ल्याइँदै गरेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन्।
‘अब पुनर्स्थापना र जनजीवन सहज बनाउनेतर्फ केन्द्रित हुन्छौँ’
उद्धार तथा राहतमा सुरक्षा निकायसँगै स्थानीय तह, जनप्रतिनिधि, नागरिक तथा विभिन्न संघ-संस्थाले समन्वय र सहयोग गरिरहेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले विपद्को तत्कालीन उद्धारसँगै अब प्रभावितको पुनर्स्थापना र जनजीवन सहज बनाउने कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
“विपद्को सुरुवाती चरणदेखि नै सुरक्षा निकाय, स्थानीय तह, जनप्रतिनिधि, संघ-संस्था र नागरिकको समन्वयमा उद्धार तथा राहतको काम भइरहेको छ। प्रभावित सबैलाई सुरक्षित स्थानमा पुर्याएर तत्काल आवश्यक खाना, बसोबास, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्था गरेका छौँ। अब वास्तविक प्रभावितको पहिचान गरी अस्थायी आवास, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र जनजीवनलाई सहज बनाउनेतर्फ हाम्रो प्राथमिकता केन्द्रित हुनेछ,” प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रशासनसँग भनेका छन्।
भदौ १ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक
प्रशासनका अनुसार अब वास्तविक प्रभावितको पहिचान, अस्थायी आवास निर्माण, क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण तथा प्रभावित नागरिकको जनजीवन सहज बनाउनेतर्फ काम अघि बढाइनेछ।
उद्धारपछिको राहत, अस्थायी आवास तथा पुनर्स्थापनाका काममा आवश्यक समन्वयका लागि भदौ १ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाइएको छ। बैठकमा सम्बन्धित सबै सरोकारवालालाई उपस्थित हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन्।






