काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत उपसचिव अनोज कुमार घिमिरेले नियमित सेवा अवधि एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा अनुकूल कार्यवातावरण नभएको, सरुवाको मागमा सुनुवाइ नभएको र प्रस्तावित संघीय निजामती सेवा ऐनका केही व्यवस्थाले भविष्यप्रति असुरक्षा बढाएको उनको भनाइ छ।
घिमिरेले राजीनामामा पारिवारिक तथा स्वास्थ्य समस्यालाई औपचारिक कारणका रूपमा उल्लेख गरेका छन्। यद्यपि, उनले स्थानीय तहमा काम गर्दाको कार्यदबाब, सरुवा व्यवस्थापन तथा प्रस्तावित निजामती सेवा ऐनमा सेवा-सुविधा कटौती र ‘३०-५५’ सम्बन्धी व्यवस्थालाई पनि राजीनामाको निर्णयसँग जोडेका छन्।
“स्थानीय निकायमा ओभर प्रेसर छ, काम गर्न सक्ने वातावरण पनि भएन,” घिमिरेले प्रशासनसँग भने, “निजामती कर्मचारीको ५५-३०, सेवा-सुविधा कटौतीका कुराहरू, यी सबै कुराहरूले आफ्नो भविष्य सुरक्षित नदेखेर राजीनामा दिएँ।”
अर्जुनधारा नगरपालिकामा करिब एक वर्षदेखि कार्यरत घिमिरेले काठमाडौँ उपत्यका वा घरपायक क्षेत्रमा सरुवाका लागि माग गरे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको बताए। नियमित सेवा अवधि अझै एक वर्ष बाँकी रहे पनि विद्यमान परिस्थितिमा सेवाबाट अलग हुनु उपयुक्त ठानेर राजीनामा दिएको उनले प्रशासनलाई बताए।
उनको राजीनामा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगिसकेको छ। आवश्यक प्रक्रिया पूरा भए पनि मन्त्रालयबाट राजीनामा स्वीकृत भएको औपचारिक पत्र भने प्राप्त भइनसकेको घिमिरेले जानकारी दिए।
संघीय निजामती सेवा विधेयकका बाँकी विषयमा कानुनी छलफल निष्कर्षनजिक पुगेका बेला घिमिरेले राजीनामा बुझाएका हुन्। अर्थ मन्त्रालयको पुनः सहमतिपछि ‘३०-५५’ सहितका विषयमा छलफल अघि बढिरहेको छ।






