काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ।
प्रतिकूल मौसमका कारण अघिल्लो दिन दुई पटक अवतरणको प्रयास असफल भए पनि हेलिकप्टर आयोजनास्थलमा ओर्लेसँगै त्यहाँको वास्तविक अवस्था र बाढीबाट भएको क्षतिको स्थलगत मूल्यांकन सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्रभावित क्षेत्रमा रोकिएका कर्मचारीको उद्धार तथा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै काम तीव्र बनाउन निर्देशन दिएका छन् ।
मन्त्रीको निर्देशन लगत्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली आयोजनास्थल पुगेको छ। टोलीमा उप कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितका अधिकारी सहभागी छन्। टोलीले आयोजनास्थलको वस्तुस्थिति निरीक्षण, उद्धार समन्वय तथा विद्युत् संरचनाको पुनर्स्थापनाका लागि प्राविधिक मूल्यांकन गरिरहेको छ।
यसैबिच, बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेका नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुरु गरिएको छ। प्राधिकरणले सिन्धुपाल्चोकतर्फबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुद्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ।
साथै, नुवाकोटका अन्य प्रभावित क्षेत्रमा चपली–देवीघाट ६६ केभी र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने तयारी अघि बढाइएको प्राधिकरणले जनाएको छ।






