काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई परिचालन गर्न निर्देशन दिएका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी बुझाएको प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले उक्त निर्देशन दिएका हुन्।
अध्यक्ष ओलीले पार्टीले खाद्यान्न, कपडा र अन्य राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी दिए। उनले राहत वितरण टोलीलाई बिदाइ गर्ने क्रममा आफूले दिएको अभिव्यक्तिलाई केही सञ्चारमाध्यमले सन्दर्भभन्दा बाहिर लगेर भ्रामक ढंगले सम्प्रेषण गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
पार्टीले गरिरहेको मानवीय कार्य र राहत अभियानलाई ओझेलमा पारेर बदनाम गर्ने नियतले कतिपय तत्त्वहरू सक्रिय रहेको उनको टिप्पणी छ । प्राकृतिक विपत्तिको अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढी वर्षाका कारण मात्र नभई ‘ग्लेसियर’ वा हिमताल विस्फोट भएका कारण आएको हुनसक्ने प्रारम्भिक अनुमान गरे ।
अध्यक्ष ओलीले उद्धार र राहत कार्यमा समन्वयको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे । केही मन्त्रीहरूले पूर्वतयारी र व्यवस्थापनविना नै सुरक्षित स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्दा उनीहरू थप अलपत्र परेको र पीडितहरूमा आक्रोश बढेको उनले बताए।
विपत्तिको यस घडीमा पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरू आफ्नै पारिवारिक क्षतिलाई बिर्सेर पनि जनताको सेवामा लागेको भन्दै उनले प्रशंसा गरे । नुवाकोट र रसुवाका पार्टी पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूका परिवारका सदस्य अझै बेपत्ता रहेको पीडादायी अवस्था सुनाउँदै उनले सबैलाई धैर्यताका साथ उद्धारमा लाग्न आग्रह गरे । राहत र पुनर्निर्माणका कार्यलाई व्यवस्थित गर्न अध्यक्ष ओलीले बागमती प्रदेश कमिटीका इन्चार्ज महेश बस्नेतको संयोजनमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा आवश्यक समन्वय गर्ने जिम्मेवारी तोकेका छन् ।
पार्टीले उद्धार, राहत र पुनर्निर्माण (रेस्क्यु, रिलिफ र रिकन्स्ट्रक्सन) लाई प्राथमिकतामा राखेर केन्द्रीय कार्यालयमार्फत समग्र कार्यको अनुगमन र सहयोग गर्ने उहाँले स्पष्ट पारे । अध्यक्ष ओलीले केन्द्र सरकारलाई पनि आफ्नो सामर्थ्य परिचालन गरी पुनर्निर्माणका काममा सक्रिय हुन आह्वान गरे । विशेष गरी बाढीले पुर्याएको सडक, पुल र जलविद्युत आयोजनाहरूको क्षतिको गहिराइ ठूलो रहेको उल्लेख गर्दै उनले यसका लागि एकीकृत पहल आवश्यक रहेकोमा जोड दिए ।






