काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि मृतकको संख्या बढ्दै जाँदा राजधानीमा संकलित शवको व्यवस्थापन जटिल बन्दै गएको छ।
अस्पतालमा राख्न सकिने क्षमताभन्दा बढी शव जम्मा भएपछि व्यवस्थापनका लागि वैकल्पिक उपायबारे काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले छलफल अघि बढाएका छन्। यसअघि चितवनमा अस्पतालको क्षमताले धान्न नसकेपछि शवलाई जमिनमा राखेर व्यवस्थापन गरिएको थियो।
काठमाडौँमा पनि शवको संख्या बढेर अस्पतालको भण्डारण क्षमता प्रभावित भएपछि जिल्ला सुरक्षा समिति तथा चिकित्सकहरूसँग परामर्श गरी उपयुक्त व्यवस्थापन विधि तय गर्न छलफल भइरहेको छ।
प्रजिअ पौडेलसहितको टोली शव व्यवस्थापनको विकल्प पहिचान गर्न छलफलमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।
चितवनमा अपनाइएको विधि अनुसार जमिनमा शव व्यवस्थापन गर्ने विकल्पमाथि समेत विचार भइरहेको उनले बताए। यद्यपि उक्त विधि अपनाउने सम्बन्धमा अन्तिम निर्णय भइसकेको छैन।
शव व्यवस्थापनका विषयमा आजै निष्कर्षमा पुग्ने गरी छलफल अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिएका छन्।






