काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा भएको भ्रमणलाई लिएर प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।
भ्रमणअघि संसदमा सम्बोधन गर्नुपर्ने र सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाएका हुन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिएकाले यसमा व्यापक गृहकार्य आवश्यक रहेको बताए ।
प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको विषयमा टिप्पणी गर्दै दुलालले यदि यो त्रिशूली बाढीका कारण घोषित शोकको सम्मानमा गरिएको हो भने यसलाई स्वाभाविक रूपमा लिन सकिने बताए । यद्यपि, राष्ट्रिय पहिचानका लागि यस्ता प्रोटोकलहरू परम्परागत र महत्वपूर्ण हुने उनको भनाइ छ । साथै, विगतको तुलनामा प्रधानमन्त्रीको भ्रमण टोलीको सङ्ख्या कटौती भएको विषयलाई उनले सकारात्मक रूपमा लिनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाएर जाँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद बढ्थ्यो, तर प्रधानमन्त्रीले सर्वदलीय परामर्श र पूर्वप्रधानमन्त्रीहरूसँगको अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा जानु कमजोरी हो ।’
दुलालले अन्तर्राष्ट्रिय कुटनीतिक वृत्तमा हुने ‘साइडलाइन’ वार्ताहरूको महत्वमाथि पनि जोड दिए । नेपालको विकास साझेदार मुलुकहरूसँग द्विपक्षीय वार्ता नहुनु कुटनीतिक रूपमा कमजोरी हुन सक्ने उनले औँल्याए । प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको प्राकृतिक विपत्ति र ‘क्लाइमेट जस्टिस’ को मुद्दालाई राष्ट्रसंघीय मञ्चमा सशक्त ढंगले उठाउनुपर्नेमा उनले जोड दिए ।






