काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षा जोखिम देखिएपछि निवासबाट सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेको छ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ गरिएको नभई सुरक्षाका कारण रेस्क्यू गरिएको बताएका हुन्।
उनका अनुसार जबराको सुरक्षामा जोखिम देखिएपछि प्रहरीले उनलाई निवासबाट सुरक्षित स्थानमा लगेको हो। जबराले समेत थप सुरक्षा माग गर्दै निवेदन दिएको सरकारको दाबी छ।
‘पक्राउ गरिएको होइन, सुरक्षामा प्रश्न आएपछि रेस्क्यू गरेर लगिएको हो,’ पोखरेलले भने, ‘उहाँले थप सुरक्षा माग गरेर निवेदन पनि पठाउनुभएको छ। यसले पनि थ्रेट आएको पुष्टि गर्छ।’
सरकारले जबरालाई ‘जेन जेड’ समूहबाट सुरक्षा खतरा आएको भन्ने विवरण भने अस्वीकार गरेको छ।



