मुस्ताङ । उपल्लो मुस्ताङमा शुक्रबार रातिदेखि भइरहेको भारी हिमपातले बस्ती, सडक तथा उच्च हिमाली क्षेत्र हिउँले ढाकिएका छन्। हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाकामा आवागमन रोकिएको छ भने तल्लो क्षेत्रमा निरन्तर वर्षा र पहिरोका कारण यातायात प्रभावित भएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा शुक्रबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि निरन्तर वर्षा भइरहेको छ। हिमपात र वर्षाका कारण स्थानीय बासिन्दा, पर्यटक तथा ढुवानी व्यवसायीको दैनिक गतिविधि प्रभावित भएको छ।
नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको न्हेचुङस्थित बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ। बाक्लो हिउँका कारण सडकमा जोखिम बढेपछि कोरलातर्फ जाने सवारीसाधन र पर्यटकको आवागमन रोकिएको छ।
हिमपातका कारण न्हेचुङबाट कोरला नाका जाने तथा जोमसोमतर्फ फर्किने भन्सार जाँचपास भइसकेका कन्टेनर र विद्युतीय सवारीसाधनलाई समेत यात्रा नगर्न भनिएको छ। मौसम सामान्य नभएसम्म सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न सुरक्षा निकायले अनुरोध गरेका छन्।

लोमान्थाङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन्। हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङका अनुसार कात्तिक महिनामै यसरी बाक्लो हिमपात भएको पहिलो अनुभव हो।
यसैबीच, निरन्तर वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ क्षेत्रमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले हिमपात र वर्षाका कारण जोखिम बढेकाले मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन्। मौसम प्रतिकूल रहेकाले जोखिमयुक्त सडक तथा उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।





