काठमाडौँ । मलेसियाले नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सोमबार भएको टेलिफोन संवादमा मलेसियाका परराष्ट्र मन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनले नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मलेसिया सरकार र जनताको तर्फबाट नेपालप्रति ऐक्यबद्धता प्रकट गरेका हुन् ।
नेपालको आवश्यकता पहिचान गरी थप सहयोग आवश्यक परे त्यसका लागि मलेसिया तयार रहेको धारणा हसनले संवादका क्रममा राखेको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ ।
जवाफमा मन्त्री खनालले मलेसियाले देखाएको सहानुभूति, समर्थन र सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । उनले विपद्पछिको खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल सरकारले अघि बढाइरहेका कामबारे मलेसियाली समकक्षीलाई जानकारी गराउँदै हराइरहेका व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको बताएका थिए ।
विपद्मा प्रभावित मलेसियाली नागरिकबारे आवश्यक र प्रमाणित विवरण समयमै उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्री खनालले व्यक्त गरेका छन् । यसका लागि काठमाडौँस्थित मलेसियाली दूतावाससँग आवश्यक समन्वय कायम राख्ने उनले बताएका थिए ।
रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका गतिविधि सञ्चालन भइरहेका छन् । सोही अवस्थाका बीच नेपाल र मलेसियाका परराष्ट्रमन्त्रीबीच पछिल्लो संवाद भएको हो ।






