काठमाडौँ । रसुवामा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सरकारले सुरुङको माथिल्लो भागबाट समेत पहुँच बनाउने विकल्पमा काम गरिरहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री सुधन गुरुङले उद्धारका लागि उपलब्ध सबै सम्भावित उपाय प्रयोग गर्ने प्रयास भइरहेको बताएका हुन् ।
उनका अनुसार सुरुङको माथिबाट ड्रिलिङ तथा खन्ने काम अघि बढाएर फसेका व्यक्तिसम्म पुग्न सकिने सम्भावनाबारे प्राविधिक रूपमा प्रयास भइरहेको छ । नियमित प्रवेश मार्गबाट उद्धारमा कठिनाइ देखिएपछि वैकल्पिक दिशाबाट सुरुङमा प्रवेश गर्ने उपायसमेत अघि सारिएको उनले जानकारी दिए ।
गृहमन्त्री गुरुङले सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे अझै सम्भावना कायम रहेको बताएका छन् । उनीहरू त्यहाँ उपलब्ध पानीको सहारामा रहेको हुनसक्ने सम्भावनालाई समेत ध्यानमा राखेर उद्धार प्रयास जारी राखिएको उनको भनाइ छ ।
उनले सुरक्षा संयन्त्रका टोलीहरू घटनास्थलमा निरन्तर परिचालित रहेको जानकारी दिँदै उद्धारको सम्भावना कायम रहेसम्म प्रयास नरोकिने स्पष्ट पारेका छन् ।






