काठमाडौँ । प्रतिनिधि सभाको बैठक तत्काल आह्वान गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्ता संसद् सञ्चालन, पत्रकारमाथिको धरपकड तथा सरकारसँग सम्बन्धित विवादित विषयमा संसदीय छानबिनको मागमा केन्द्रित रहेको जनाइएको छ।
आङ्देम्बेले सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकका निर्णय तथा सोही दिन विपक्षी दलका नेताहरूबीच भएको छलफलका निष्कर्षबारे सभामुखलाई जानकारी गराउने कार्यक्रम रहेको थियो।
सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले पत्रकारमाथिको धरपकडलगायत सरकारसँग जोडिएका विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो।
काँग्रेसले यस्ता विषयमा संसद्भित्र छलफल र संसदीय निगरानी आवश्यक रहेको भन्दै प्रतिनिधि सभाको बैठक यथाशीघ्र बोलाउन माग गरेको छ।
त्यस्तै, सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले पनि संसद् सञ्चालनको माग गर्दै सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। बैठकमा पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरी परिचालन तथा विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयमा छलफल भएको थियो।
विपक्षी दलहरूले सरकारका कामकारबाहीमाथि संसद्मार्फत प्रश्न उठाउने र विवादित विषयमा आवश्यक छानबिन गराउने उद्देश्यले बैठक सञ्चालनको माग अघि सारेका हुन्।




