काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलि मंसिर ११ गते मधेस प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्ला भ्रमणमा जाने भएकी छन् ।
भ्रमणका क्रममा मन्त्री रावलले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्नेछिन्। साथै, भूमिहीन, सुकुम्वासी तथा दलित समुदायको बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नेछिन् । विशेष गरी मुसहर बस्तीमा पुगेर त्यहाँका नागरिकले भोग्दै आएका जग्गा, आवास तथा अन्य समस्याबारे जानकारी लिने बताइएको छ ।
अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिनेछ।






