काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ता सकारात्मक र आगामी राजनीतिक दिशाबारे केन्द्रित रहेको बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आइतबार भएको करिब चार घण्टा लामो छलफलमा समसामयिक विषय, राष्ट्रिय राजनीति र भविष्यको बाटोबारे गम्भीर संवाद भएको जानकारी दिए।
उनका अनुसार भेटका क्रममा विशेष गरी सुकुम्वासी समस्या समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेको विषयमा छलफल भएको थियो। आम नागरिकले अनावश्यक दुःख र समस्या भोग्न नपरोस् भन्ने विषयमा दुवै पक्षले चासो व्यक्त गरेको उनले बताए।
लामिछानेले भेटमा उठेका अन्य विषयमा समेत विस्तृत छलफल भएको उल्लेख गर्दै प्रधानमन्त्री र आफूबीच भएको संवादलाई राजनीतिक प्रकृतिको नियमित छलफलका रूपमा व्याख्या गरे।
उनले प्रधानमन्त्री शाहसँगको छलफल सौहार्दपूर्ण वातावरणमा भएको र आगामी कार्यदिशाका विषयमा सकारात्मक तथा उपलब्धिमूलक कुराकानी भएको दाबी गरे।







