काठमाडौँ । रुपन्देही प्रहरीले रिभल्वर र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका-९ स्थित नयाँ बसपार्क क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका मकवानपुरको बागमती गाउँपालिका-९ का २६ वर्षीय रेशम तुङसिङ मगरलाई सोधपुछ तथा कानुनबमोजिम खानतलासी गर्दा उनको साथबाट रिभल्वरको एक थान गोली बरामद भएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले उनको स्थायी ठेगानाबाट रिभल्वर एक थान र थप पाँच थान गोलीसमेत बरामद गरेको जनाएको छ।
प्रहरीले बरामद सामग्रीसहित उनलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।







