दीर्घकालीन समाधान खोज्न साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु र १६ जना घाइते भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान ९ बजे बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको गृह मन्त्रालय प्रशासन स्रोतले जानकारी दिएको छ । समितिका अन्य सदस्य र प्रतिवेदन पेस गर्ने समयसीमाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन र समस्याको दीर्घकालीन समाधान खोज्न सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। बैठकमा घटनाको सुरक्षा व्यवस्थापन, सम्भावित जोखिम तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
झडपमा प्रदर्शनकारीतर्फ आठ जना र प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते प्रदर्शनकारीको कोशी अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
झडपमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल तथा प्रहरी कर्मचारी रामबहादुर राई, विजय यादव, बुद्धदेव साह र निवेश यादव पनि घाइते भएका छन्। प्रहरी निरीक्षक राईको टाउकोमा चोट लागेको बताइएको छ।






