काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा (नासु) कविलाल बीसी पक्राउ परेका छन्। एकीकृत कृषि प्रयोगशाला सुर्खेतकी २७ वर्षीया प्राविधिक सहायक चन्द्रा सिंहको मृत्यु प्रकरणमा अनुसन्धानको लागी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।
मृतकका श्रीमान् महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले साउन १६ गते उनलाई नियन्त्रणमा लिएको हो।
जाजरकोटको भेरी नगरपालिका-१ घर भएकी सिंह वीरेन्द्रनगर-७ इत्रामस्थित कार्यालयको आवास गृहको शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सिंहको आइतबार अन्त्येष्टि गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा सिंह र बीसी बीच फेसबुक म्यासेन्जरमा भएका केही संवाद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार अदालतबाट म्याद थप गरी डिजिटल प्रमाणसहित घटनाका सबै पक्षबाट अनुसन्धान भइरहेको छ ।






