काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण सिर्जित हो वा मानव निर्मित दुर्घटना हो भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपदबाट उत्पन्न शोक र पीडालाई शक्तिमा बदल्न र भविष्यमा सम्भावित विपद्का घटना रोक्न भोटेकोशी बाढीको वैज्ञानिक र वस्तुगत निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमै संकट उत्पन्न गरिरहेको समेत बताए ।
उनले विकसित देशहरूले उद्योग, यातायातलगायतका क्षेत्रमा अत्यधिक कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन भई वायुमण्डलीय तापक्रम अस्वाभाविक रूपमा बढेको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले बढ्दो तापक्रम वृद्धिका कारण हिमालको हिउँ पग्लिँदा त्यसले भयावह बाढी पहिरो निम्त्याउने र मानव बस्तीको अस्तित्वमा समेत असर पार्ने बताए।
उनले भने,‘यो प्रकृतिद्वारा सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना ? यो शोक र पीडाको घडीमा यो प्रश्नको वस्तुनिष्ठ विवेचना गर्न जरुरी छ । यसको वस्तुगत निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्दछौँ । सम्भावित दुर्घटना रोक्न वा त्यसबाट बच्न सक्दछौँ । सभामुख महोदय, विज्ञ तथा वैज्ञानकिहरुको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै संकट पैदा गरेको छ । विकसित देशहरूले उद्योग, यातायात तथा अन्य प्रयोजनको लागि अत्यधिक मात्रामा कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विशाक्त ग्यास उत्सर्जन गर्दछ । फलस्वरूप वायुमण्डलको तापक्रममा अस्वाभाविक रूपमा वृद्धि हुन जान्छ । तापक्रमको वृद्धिले हिमालको हिउँ पग्लिन्छ जुन भयावह बाढी पहिरोमा परिणत हुन्छ । त्यसले मानव बस्तीको अस्तित्व नै मेटाउँछ, सभामुख महोदय उत्तरी तथा दक्षिणी धुर्वमा हिउँ पग्लिरहेका छन् । त्यसले एक प्रकारको सुनामी सृष्टि गरिरहेको छ ।’
उनले प्रधानमन्त्री शाहले आफ्नो शासन शैलीमा परिवर्तन गर्नुपर्ने तर्क समेत गरे ।






