काठमाडौँ । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहले संसद् र सांसदहरूसँग पर्याप्त संवाद तथा विश्वास निर्माणको पहल गर्न नसकेको भन्दै कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभामा बोल्दै ‘प्रचण्ड’ले प्रधानमन्त्रीले संसदमा आएर विषयवस्तुबारे जानकारी गराए पनि त्यसलाई संसद्का सबै पक्षलाई विश्वासमा लिने अवसरका रूपमा उपयोग गर्न नसकेको बताए। प्रतिपक्षी मात्र नभई सत्तापक्षका सांसदसँग समेत संवाद र विश्वासको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री संसदमा आएर सम्बोधन गरेपछि अन्य सांसदसँग संवाद नगरी फर्किने शैली उपयुक्त नभएको ‘प्रचण्ड’ले टिप्पणी गरे। प्रधानमन्त्री सबै सांसद र दलको साझा नेतृत्व भएकाले राष्ट्रिय संकटका बेला सहयोग गर्न तयार रहेका सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उनले बताए।
‘प्रचण्ड’ले प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिलाई नेतृत्व क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। देशले लामो भाषण वा आश्वासनभन्दा संकटको प्रत्यक्ष सामना गर्न सक्ने नेतृत्व खोजिरहेको उनको भनाइ थियो।
राज्यका संयन्त्र हरेक संकटग्रस्त क्षेत्रमा प्रभावकारी रूपमा उपस्थित हुनुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा गरिने अभिव्यक्ति वा प्रचारले मात्र संकट समाधान नहुने बताए। सामाजिक सञ्जालको माध्यमबाट निर्वाचन जित्न सकिए पनि राष्ट्रिय विपत्तिको व्यवस्थापनका लागि त्यस्तो माध्यम पर्याप्त नहुने उनको टिप्पणी थियो।
देश गम्भीर संकटमा रहेको उल्लेख गर्दै ‘प्रचण्ड’ले राजनीतिक तथा सामाजिक एकताको आवश्यकता औँल्याए। संकटका समयमा राज्यको उपस्थिति र विपत्तिमा राष्ट्रिय एकता देखिनुपर्ने भन्दै त्यसका लागि सबै पक्षलाई समेटेर अघि बढ्ने प्रमुख दायित्व प्रधानमन्त्रीकै भएको उनले बताए।
प्रधानमन्त्री शाहले सबैको विश्वास जित्न नसके वर्तमान अवसर चुनौतीमा परिणत हुन सक्ने चेतावनीसमेत प्रचण्डले दिए। समयले सधैँ पर्खिरहन नसक्ने भएकाले प्रधानमन्त्रीले आफ्नो नेतृत्वशैलीमा गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ थियो।






