काठमाडौँ । रसुवाका बाढी प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले उपलब्ध गराएको १ करोड ५० लाख रुपैयाँ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डब्लूडब्लूएफबाट प्राप्त उक्त रकम कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
अर्थमन्त्री वाग्ले र मन्त्री चौधरीबीच आज भएको भेटवार्ताका क्रममा रसुवाका बाढी प्रभावित नागरिकका लागि प्राप्त राहत रकम हस्तान्तरण गरिएको हो। भेटमा बाढी प्रभावित क्षेत्रमा राहत तथा पुन:स्थापनाका लागि प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो।
यसैगरी, भेटवार्तामा आगामी कृषि सिजनका लागि आवश्यक रासायनिक मलको आपूर्ति र वितरण व्यवस्थापनबारे पनि छलफल भएको जनाइएको छ।
आगामी सिजनमा किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गर्ने र समयमै मल खरिद गरी सहज रूपमा किसानसम्म पुर्याउने विषयमा छलफल भएको हो।
रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि प्राप्त रकमको प्रभावकारी परिचालनसँगै आगामी कृषि सिजनमा मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जनाइएको छ।






