काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.ले पदबहाली गरेका छन्।
बुधबार साँझ काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर केसीले औपचारिक रूपमा पदबहाली गरेका हुन्। सो अवसरमा प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए।


पदबहालीपछि महानिरीक्षक केसीले प्रहरी अधिकारीहरूलाई निर्देशनसमेत दिएका थिए। उनले पदबहालीका क्रममा दिएको निर्देशनको विस्तृत विवरण भने प्राप्त भएको छैन।
यसअघि गृह मन्त्रालयमा आयोजित कार्यक्रममा केसीले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए। त्यसपछि उनी पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुगेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। उनी नेपाल प्रहरीका ३४औँ महानिरीक्षक हुन्।
यसअघि केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए। उनी २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन्।

सरकारले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको उक्त पद सिर्जना गरी कार्कीलाई खटाउने निर्णय भएको हो।
कार्कीलाई नयाँ जिम्मेवारीमा खटाएपछि रिक्त भएको प्रहरी महानिरीक्षक पदमा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम बुधबारदेखि लागू हुने गरी बढुवा गरिएको हो।





