काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित परिस्थितिको व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल अघि बढाएका छन्।
प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म सञ्चालन भएका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनका विषयमा जानकारी लिएका छन्।
सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रको अवस्था, उद्धार प्रयास तथा राहत व्यवस्थापनबारे आवश्यक समन्वय र आगामी कार्यदिशाका विषयमा प्रधानमन्त्रीले जानकारी लिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत आजै छलफल गरी सुरक्षा निकायबाट भइरहेको खोज, उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।
भोटेकोशीमा आएको बाढीपछि उत्पन्न संकट समाधानका लागि सुरक्षा संयन्त्रको परिचालन, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्रीले सुरक्षा निकायका नेतृत्वसँग प्रत्यक्ष समन्वय गरिरहेका छन्।






