भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गर्दै आरती न्यौपानेलाई राष्ट्रिय किताबखाना (निजामती) को महानिर्देशक र प्रकाश दाहाललाई पीएलजीएसपीको राष्ट्रिय कार्यक्रम निर्देशकको अतिरिक्त जिम्मेवारी दिएको छ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जना सहसचिवको जिम्मेवारी हेरफेर तथा थप गरेको छ।
मन्त्रालयको निर्णयअनुसार सहसचिव आरती न्यौपानेलाई राष्ट्रिय किताबखाना (निजामती) को महानिर्देशकको जिम्मेवारी दिइएको छ। उक्त पद केही समयदेखि रिक्त रहेको थियो।
यस्तै, मन्त्रालयले संघीय मामिला महाशाखाका प्रमुख सहसचिव प्रकाश दाहाललाई प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम(पीएलजीएसपी) को राष्ट्रिय कार्यक्रम निर्देशकको अतिरिक्त जिम्मेवारी प्रदान गरेको छ।
मन्त्रालयले क्षमता विकास महाशाखा खारेज गरेपछि त्यस अन्तर्गत रहेका कार्य तथा जिम्मेवारीहरू संघीय मामिला महाशाखामा समायोजन गरेको छ।
सोही व्यवस्थाअनुसार, संघीय मामिला महाशाखाको नेतृत्व गरिरहेका दाहाललाई पीएलजीएसपीको राष्ट्रिय कार्यक्रम निर्देशकको जिम्मेवारी समेत थप गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम संघीय शासन प्रणालीअन्तर्गत प्रदेश र स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाह तथा सुशासन सुदृढीकरणसँग सम्बन्धित राष्ट्रिय कार्यक्रम हो। राष्ट्रिय कार्यक्रम निर्देशकले कार्यक्रमको समग्र कार्यान्वयन, समन्वय तथा अनुगमनको नेतृत्व गर्ने जिम्मेवारी वहन गर्छन्।






