शव व्यवस्थापनमा मृतकका आफन्तको भावना, धर्म, संस्कार र परम्परालाई ध्यान दिन सरकारलाई सुझाव दिएका सहसचिव कोशहरि निरौला भोलिपल्टै टिमुरे खटाइए। सामाजिक सञ्जालमा निर्णयमाथि टीकाटिप्पणी भइरहँदा निरौला भने भन्छन्– सरकारले जहाँ खटाउँछ, त्यहीँ गएर जिम्मेवारी पूरा गर्छु।
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनबारे सरकारलाई सुझाव दिएको भोलिपल्ट रसुवाको टिमुरे खटाइएका सहसचिव कोशहरि निरौलाले सरकारको निर्णयअनुसार जिम्मेवारी पूरा गर्ने बताएका छन्।
सरकारको निर्णयप्रति कुनै असन्तुष्टि नरहेको स्पष्ट पार्दै निरौलाले कर्मचारीका रूपमा सरकारले खटाएको स्थानमा गएर जिम्मेवारी निर्वाह गर्नु आफ्नो दायित्व भएको बताए।
‘यो विपद्का बेला सबैले आ-आफ्नो ठाउँबाट सक्दो काम गर्ने हो,’ उनले भने, ‘सरकारले भनेको ठाउँमा गएर आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु।’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार निरौलालाई रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको अगुवाइ गर्न टिमुरे खटाउने निर्णय गरेको थियो ।
सहसचिव निरौलाले सामाजिक सञ्जालमार्फत सुझाव सार्वजनिक गरेको भोलिपल्टै मन्त्रालयले उनलाई शव व्यवस्थापनको काममा खटाउने निर्णय गरेको हो । सुझाव दिएकै कारण उनलाई खटाइएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ।
हाल विराटनगरमा रहेका निरौलाले टिमुरेसम्म कसरी पुग्ने भन्ने विषयमा अन्योल भए पनि सरकारले खटाएको स्थानमा गएर काम गर्ने बताए।
‘म अहिले विराटनगरमै छु। अब सरकारले जहाँ भनेको छ, त्यहीँ जाने हो,’ उनले भने, ‘तोकिएको ठाउँमा खटाएपछि गएर काम गर्छु। म आफ्नो ड्युटी पूरा गर्छु।’
आफू शव व्यवस्थापनसम्बन्धी विशेषज्ञ नभएको उल्लेख गर्दै उनले आवश्यक निकायहरूबीच समन्वय र सहजीकरण गर्न सक्ने बताए।
‘मैले आफ्नो ठाउँबाट जे गर्न सक्छु, त्यही गर्ने हो,’ उनले भने, ‘म शव व्यवस्थापन गर्ने व्यक्ति त होइन। सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न सक्छु। मैले गर्ने त्यति नै हो।’
भोटेकोशीको बाढीमा फेला परेका सनाखत हुन नसकेका शव चितवनमा गाड्ने सरकारको निर्णयपछि शव व्यवस्थापनको विषयमा बहस भइरहेको थियो। त्यस क्रममा निरौलाले मृतकका आफन्तको भावना तथा उनीहरूको धर्म, संस्कार र परम्परालाई ध्यान दिनुपर्ने सुझाव शनिबार फेसबुकमार्फत दिएका थिए।
कोरोना महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका निरौलाले सोही अनुभवका आधारमा सुझाव सार्वजनिक गरेको बताएका छन्। कोभिड महामारी र अहिलेको शव व्यवस्थापनको अवस्था फरक भए पनि मानिसको भावना उस्तै हुने भएकाले आफूले अनुभव साझा गरेको उनको भनाइ छ।






