काठमाडौँ । नेपाल र ओमानबीच रासायनिक मल आपूर्ति, कृषि उपजको व्यापार विस्तार, जलवायु परिवर्तन र श्रमिक व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख शेख खलिफाबीच बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सहयोग विस्तारका विभिन्न सम्भावनाबारे छलफल भएको हो।
भेटका क्रममा ओमानको प्रतिनिधिमण्डलले आफ्नो मुलुकमा उत्पादित ग्रिन युरिया नेपालमा निर्यात गर्न सकिने सम्भावना औँल्याएको छ। ओमानमा उत्पादित ग्रिन युरिया हाल भारतमा निर्यात भइरहेको जानकारी दिँदै प्रतिनिधिमण्डलका प्रमुख खलिफाले नेपालसँग पनि यस क्षेत्रमा व्यापारिक सहकार्य गर्न सकिने बताएका हुन्।
नेपालमा रासायनिक मलको नियमित आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्रीले ओमानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए।
मन्त्रालयका सचिवले सरकार-सरकार (जीटुजी) संयन्त्रमार्फत मल आपूर्तिको व्यवस्था गर्न सकिने विषय उठाएका थिए। त्यसका लागि कम्पनी-कम्पनी (बीटुबी) सम्झौतामार्फत खरिद, ढुवानी, पारवहन तथा अन्य लजिस्टिक व्यवस्थापनमा समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
मल आपूर्तिसम्बन्धी सम्भावित सहकार्यलाई अघि बढाउन सम्बन्धित कम्पनीहरूसँग सम्पर्क र थप छलफल गर्न सकिने विषयमा समेत कुराकानी भएको छ।
भेटमा नेपालबाट ओमानतर्फ कृषि तथा पशुजन्य उत्पादनको निर्यात बढाउने सम्भावनाबारे पनि छलफल भएको थियो। विशेष गरी चिया, अलैँची, ताजा तरकारी, आँप, स्याउलगायतका कृषि उपजको निर्यात प्रवर्द्धन गर्न सकिने विषय उठाइएको थियो।
ओमानको प्रतिनिधिमण्डलले नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन भविष्यमा नेपालमा ओमानको दूतावास स्थापना गर्ने सम्भावनाबारे समेत चर्चा गरेको छ। कोभिड-१९ महामारीअघि सञ्चालनमा रहेको प्रत्यक्ष हवाई उडान पुनः सञ्चालनको महत्त्व पनि औँल्याइएको छ।
मन्त्रीले दुई मुलुकबीच प्रत्यक्ष हवाई सम्पर्क पुनः स्थापना हुन सके कृषि उपजको व्यापार, पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
जलवायु परिवर्तनका विषयमा मन्त्रीले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर भोग्नुपरेको बताए।
हिमाली क्षेत्रमा हिमपात हुने स्थानमा वर्षा हुने क्रम बढेको तथा पछिल्ला बाढीजन्य विपदबाट ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले पर्वतीय कूटनीति र जलवायु परिवर्तनबाट हुने हानि तथा क्षतिसम्बन्धी अन्तर्राष्ट्रिय पहलमा ओमानको सहयोग अपेक्षा गरे।
ओमानका प्रतिनिधिमण्डल प्रमुखले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका थिए।
भेटमा ओमानमा कार्यरत नेपाली श्रमिकको सीप विकास, सुरक्षित तथा सम्मानजनक रोजगारी र वैदेशिक रोजगार प्रक्रियामा पारदर्शिता कायम गर्ने विषयले पनि प्राथमिकता पाएको थियो।
मन्त्रीका सल्लाहकारले नेपाली श्रमिकमाथि पर्ने आर्थिक भार घटाउन अत्यधिक भर्ती शुल्क नलिने तथा श्रमिकको अधिकार र हित सुनिश्चित गर्ने नैतिक भर्ती प्रणाली अपनाउनुपर्नेमा जोड दिएका थिए।
त्यसका लागि सम्बन्धित मुलुकका कानुनी प्रावधान पालना गर्ने रोजगारदाता तथा भर्ती कम्पनीसँग सहकार्य गर्नुपर्ने विषय उठाइएको थियो।
द्विपक्षीय भेटमा कृषि, वन तथा वातावरण, मल आपूर्ति, कृषि व्यापार, जलवायु कूटनीति र सीपयुक्त जनशक्ति व्यवस्थापनका क्षेत्रमा आगामी दिनमा थप समन्वय र सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको हो।



