काठमाडौँ । नापी विभागले नौ जना नापी अधिकृतको पदस्थापन गरेको छ । विभागले शुक्रबारको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूको पदस्थापन गरेको हो ।
पदस्थापन सूचीअनुसार विज्ञान बन्जारा, उमंग राज डोटेल, अर्चना केसी र नवराज सुवेदीलाई नापी विभागमा पदस्थापन गरिएको छ ।
त्यसैगरी प्रकाश घिमिरेलाई नापी कार्यालय लेखनाथ, कास्की, अप्सरा पौडेललाई डिल्लीबजार, मोहन बन्जाडेलाई चितवन, सुशिला कार्कीलाई कलंकी र भुवन सिंह बिष्टलाई कैलालीमा पदस्थापन गरिएको छ ।
यसअघि आजै विभागले १५९ जना नापी अधिकृतको परिमार्जित सरुवा सूची सार्वजनिक गरेको थियो । सरुवामा मापदण्ड उल्लंघन भएको भन्दै यसअघिको सरुवा निर्णय एकमुष्ठ बदर गरिएपछि विभागले कर्मचारीका गुनासा सम्बोधन गर्दै परिमार्जित सूची सार्वजनिक गरेको हो ।








