काठमाडौँ । रिक्त सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। सचिव बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त सचिव पदका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रम अनुसार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।
सिफारिस भएकामध्ये पराजुली हाल राष्ट्रिय महिला आयोगमा कार्यरत छन्। तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत छन् भने श्रेष्ठ मधेश प्रदेशमा सचिवका रूपमा कार्यरत छिन्।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि रिक्त एक सचिव पदमा बढुवा समितिले तीन जना सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ। समितिको सिफारिसपछि तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
यसपटकको सिफारिसमा पराजुली पहिलो नम्बरमा छन्। पछिल्लो समय सचिव बढुवामा सिफारिसको योग्यताक्रमलाई प्राथमिकता दिइँदै आएको सन्दर्भमा अब मन्त्रिपरिषद्ले कसलाई सचिवमा बढुवा गर्छ भन्ने विषय प्रशासनिक वृत्तको चासोमा छ।
सचिव बढुवाको श्रृंखलामा पराजुली र तामाङ अगाडि
पछिल्लो समय सचिव पद रिक्त हुँदै गएसँगै बढुवा सिफारिसको प्रक्रिया पनि लगातार अघि बढिरहेको छ। यसअघि रिक्त सचिव पदका लागि उत्तमकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।
यसपटक अघिल्लो सिफारिसमा दोस्रो नम्बरमा रहेका पराजुली पहिलो र तेस्रो नम्बरमा रहेका तामाङ दोस्रो स्थानमा उक्लिएका छन्। श्रेष्ठ तेस्रो नम्बरमा सिफारिस भएकी छन्।
यसअघि ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनबाट हुने २० प्रतिशततर्फ वरिष्ठ सहसचिव विनोदबहादुर कुँवरको एकल नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो। उनी सचिव नियुक्त भई सकेका छन् । रिक्त पद थपिँदै जाँदा वरिष्ठ सहसचिवहरूको बढुवा सिफारिसको श्रृंखला पनि क्रमशः अघि बढिरहेको छ।
तीन निकायमा सचिव पद रिक्त
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिव पद रिक्त रहेको छ।
रिक्त पदमा बढुवासँगै सचिवहरूको पदस्थापन तथा सरुवाको विषयसमेत अघि बढ्ने भएकाले आगामी मन्त्रिपरिषद् बैठकहरूबाट उच्च प्रशासनिक तहमा थप हेरफेर हुने सम्भावना देखिएको छ।
सचिव पद रिक्त हुने, बढुवा हुने र अनिवार्य अवकाशका कारण नयाँ पद खाली हुने क्रमसँगै मन्त्रालय तथा केन्द्रीय निकायमा सचिव व्यवस्थापनको विषय पनि पेचिलो बन्दै गएको छ।
प्रदेशका प्रमुख सचिवलाई संघमा फर्काउने विषय पनि चर्चामा
प्रदेशमा प्रमुख सचिवका रूपमा खटाइएका सचिवहरूलाई अवधि र प्रशासनिक आवश्यकताका आधारमा संघमा फर्काउने विषयसमेत प्रशासनिक वृत्तमा चर्चामा छ।
प्रदेशमा लामो समयदेखि प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेकाहरूलाई क्रमशः संघमा फर्काउँदै नवनियुक्त सचिवलाई प्रदेशमा पठाउनुपर्ने प्रचलन रही आएकोमा यसअघि इन्दु घिमिरे रक्षा सचिवमा पदस्थापन भई सकेकोले अहिले नै को कहाँ भन्ने बताउन कठिन देखिन्छ ।
प्रदेशका प्रमुख सचिवलाई संघमा फर्काउने र संघबाट प्रदेशमा नयाँ प्रमुख सचिव पठाउने अवस्था बनेमा त्यसको प्रभाव मन्त्रालय तथा केन्द्रीय निकायको सचिव व्यवस्थापनमा समेत पर्नेछ।
लामो समय एउटै मन्त्रालयमा रहेका सचिव पनि हेरफेरमा पर्न सक्ने
यसैबीच, सचिव बढुवा र रिक्त पदमा पदस्थापनसँगै लामो समयदेखि एउटै मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको जिम्मेवारीसमेत हेरफेर गर्ने तयारी रहेको सिंहदरबारस्थित उच्च प्रशासनिक स्रोतले प्रशासनलाई जानकारी दिएको छ।
स्रोतका अनुसार बढुवा भएर आउने नयाँ सचिवको पदस्थापन मात्रै नभई कार्यअवधि, प्रशासनिक आवश्यकता र जिम्मेवारीको प्रकृतिसमेत हेरेर केही बहालवाला सचिवको सरुवा हुन सक्नेछ।
नयाँ सचिवको बढुवा, रिक्त निकायमा पदस्थापन, प्रदेशका प्रमुख सचिवको संघ फिर्ती तथा लामो समयदेखि एउटै जिम्मेवारीमा रहेका सचिवको सरुवालाई एकसाथ व्यवस्थापन गरिए संघीय प्रशासनको उच्च तहमा उल्लेख्य हेरफेर हुने सम्भावना देखिएको छ।






