काठमाडौँ । सरकारी कार्यालयको सफलता कसले मापन गर्ने ? सेवा दिने कर्मचारीले, कार्यालय प्रमुखले वा सेवा प्राप्त गर्ने नागरिकले ? सार्वजनिक प्रशासनमा स्थापित मुल्यांकन पद्धतिका बीच काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले यो प्रश्नको उत्तर खोज्ने एउटा नवीन अभ्यास थालेको छ । नगरपालिकाले आफूले प्रवाह गरेको सेवा र त्यसको गुणस्तरबारे नागरिकबाटै प्रतिक्रिया लिने तथा त्यसलाई प्रशासनिक सुधार र कर्मचारीको कार्यसम्पादन मुल्यांकनसँग जोड्ने प्रणाली अघि बढाएको हो ।
कुनै वडा कार्यालयमा सेवा लिन पुग्दा कर्मचारीले कस्तो व्यवहार गरे, काम कति समयमा सम्पन्न भयो, सेवा सहज रूपमा प्राप्त भयो वा अनावश्यक झन्झट बेहोर्नुपर्यो भन्ने विषयमा अब नागरिकले डिजिटल माध्यमबाटै प्रतिक्रिया दिन सक्नेछन् । सेवा राम्रो लागे सकारात्मक प्रतिक्रिया, चित्त नबुझे नकारात्मक प्रतिक्रिया र सुधार आवश्यक देखिए सुझाव दिन सकिने व्यवस्था मिलाइएको छ ।
‘सेवाग्राही सन्तुष्टि सर्वेक्षण’ अर्थात् ‘एक्जिट पोल’ नाम दिइएको यो प्रणाली झट्ट हेर्दा सामाजिक सञ्जालको ‘लाइक’ र ‘डिसलाइक’ जस्तै देखिए पनि यसको उद्देश्य भने सार्वजनिक प्रशासनको कार्यशैलीलाई थप नागरिकमैत्री, जनमुखी र जवाफदेही बनाउनु हो । यसअघि डिजिटल प्रविधिको प्रयोगमार्फत नागरिकको हातसम्म सेवा पुर्याउने अभियान अघि बढाएको बुढानीलकण्ठ अब नागरिककै अनुभवबाट आफ्नो सेवा प्रवाहको गुणस्तर मापन गर्ने दिशामा अघि बढेको छ ।
सेवाग्राहीबाट मुल्यांकनकर्तासम्म
सार्वजनिक प्रशासनमा कर्मचारीको कार्यसम्पादन मुल्यांकन गर्ने स्थापित विधि र प्रक्रिया छन् । कार्यालयले कति काम सम्पन्न गर्यो, निर्धारित लक्ष्यअनुसार कति प्रगति हासिल गर्यो र कर्मचारीले आफूलाई तोकिएको जिम्मेवारी कसरी निर्वाह गरे भन्ने आधारमा मूल्यांकनगरिन्छ । तर ती कामबाट प्रत्यक्ष लाभान्वित हुने नागरिकले कस्तो अनुभव गरे भन्ने विषयले कर्मचारीको मुल्यांकनमा अपेक्षाकृत कम स्थान पाउँदै आएको छ ।
कार्यालयको अभिलेखमा एउटा काम सम्पन्न भएको देखिन सक्छ, तर त्यही कामका लागि नागरिकले कति समय खर्च गर्नुपर्यो, कति पटक कार्यालय धाउनुपर्यो र कर्मचारीबाट कस्तो व्यवहार पाए भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । कार्यालयको आन्तरिक मूल्यांकन र नागरिकको वास्तविक अनुभवबीचको यही दूरी कम गर्न खोजेको छ बुढानीलकण्ठले ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला सार्वजनिक प्रशासनको सबैभन्दा महत्त्वपूर्ण आधार नै नागरिकको सन्तुष्टि भएको बताउँछन् । उनका अनुसार कर्मचारीले प्रवाह गरेको सेवा र सेवाग्राहीसँग गरेको व्यवहारप्रति नागरिक कति सन्तुष्ट छन् भन्ने मापन गर्न सकिए प्रशासनले आफ्नो कार्यशैलीको वास्तविक अवस्था बुझ्न सक्छ ।
“नागरिकको सन्तुष्टि हाम्रो सबैभन्दा महत्त्वपूर्ण विषय हो,” बर्तौला भन्छन्, “हामीले गरेको व्यवहार र दिएको सेवाबाट जनताले कस्तो महसुस गरिरहेका छन् भन्ने कुरा बुझ्न आवश्यक छ ।”
नागरिक सन्तुष्ट हुनु प्रशासनले अपनाएको कार्यशैली उचित रहेको एउटा सङ्केत हो भने असन्तुष्टि देखिनु सुधारको आवश्यकता औँल्याउने आधार भएको उनको बुझाइ छ । त्यसैले नागरिकको प्रतिक्रियालाई केवल औपचारिक गुनासोका रूपमा नभई प्रशासनिक सुधारका लागि प्राप्त महत्त्वपूर्ण पृष्ठपोषणका रूपमा उपयोग गर्न खोजिएको बर्तौला बताउँछन् ।
एक क्लिकमा सेवाको मुल्यांकन
नागरिकले दिएको प्रतिक्रिया कहाँ पुग्छ ? त्यसको अभिलेख कसरी राखिन्छ ? र नगरपालिकाले त्यसलाई कसरी उपयोग गर्छ ? यिनै प्रश्नको जवाफ खोज्दै प्रशासन डटकमको टोली नगरपालिकाको सूचना प्रविधि शाखामा पुगेको थियो ।
शाखाका अनुसार प्रणालीमा कर्मचारीविशेषको लोकप्रियता मापन गर्नेभन्दा पनि सम्बन्धित शाखाबाट प्रवाह हुने सेवाको प्रकृति र गुणस्तरका आधारमा मुल्यांकन गर्ने व्यवस्था गरिएको छ । सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाका आधारमा एकदेखि पाँचसम्म अङ्क दिन सक्नेछन् । त्यससँगै आफ्नो सन्तुष्टि वा असन्तुष्टिको कारण र आवश्यक सुझाव पनि व्यक्त गर्न सक्नेछन् ।
प्रारम्भिक परीक्षणका क्रममा सेवाग्राहीको व्यक्तिगत विवरण नलिई प्रतिक्रिया सङ्कलन गर्ने व्यवस्था गरिएको छ । आफ्नो परिचय खुलाउनुपर्ने अवस्थामा नागरिकले असन्तुष्टि व्यक्त गर्न हिचकिचाउन सक्ने सम्भावनालाई ध्यानमा राखेर यस्तो विधि अपनाइएको सूचना प्रविधि शाखाले जनाएको छ ।
यसरी प्राप्त हुने प्रतिक्रियालाई डिजिटल ड्यासबोर्डमार्फत हेर्न र विश्लेषण गर्न सकिनेछ । कुन शाखाको सेवाप्रति नागरिक बढी सन्तुष्ट छन्, कुन सेवामा बारम्बार असन्तुष्टि देखिन्छ र कहाँ सुधारको आवश्यकता छ भन्ने पहिचान गर्न यसले प्रशासनलाई सहयोग पुर्याउनेछ ।
सेवा प्रवाहको अनुगमनका लागि प्रशासनिक नेतृत्व आफैँ प्रत्येक शाखामा पुगेर नागरिकको अनुभव बुझिरहन सम्भव नहुन सक्छ । यस्तो अवस्थामा व्यवस्थित रूपमा सङ्कलन गरिएको नागरिकको प्रतिक्रियाले प्रशासनिक नेतृत्वलाई सेवाको अवस्था बुझ्न र आवश्यक सुधारका लागि निर्णय लिन अर्को आधार उपलब्ध गराउन सक्छ ।
नागरिकको सन्तुष्टि, कार्यसम्पादनको आधार
बुढानीलकण्ठले अघि सारेको यो अभ्यासको विशेषता प्रतिक्रिया मुल्यांकनमा मात्र सीमित छैन । नगरपालिकाले नागरिकबाट प्राप्त प्रतिक्रियालाई कर्मचारीको कार्यसम्पादन मुल्यांकन, पुरस्कार, अवसर तथा जिम्मेवारी व्यवस्थापनसँग जोड्ने योजना बनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बर्तौलाका अनुसार कर्मचारीले प्रवाह गरेको सेवा र गरेको व्यवहारप्रति नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने मापन गरी त्यसलाई कार्यसम्पादन मुल्यांकनमा उपयोग गर्ने उद्देश्यले प्रणाली अघि बढाइएको हो । भविष्यमा प्रचलित व्यवस्था र स्थापित मापदण्डको अधीनमा रही कर्मचारीको सरुवा, बढुवा तथा सेवा-सुविधासम्बन्धी मुल्यांकनमा पनि त्यसलाई आधार बनाउन सकिने उनको भनाइ छ ।
यसले कर्मचारीको कार्यसम्पादनलाई कार्यालयभित्रको प्रशासनिक मुल्यांकनमा मात्रै सीमित नराखी सेवा प्राप्त गर्ने नागरिकको अनुभवसँग समेत जोड्ने सम्भावना देखाएको छ । सार्वजनिक सेवाको केन्द्रमा नागरिकलाई राख्ने प्रशासनिक मान्यतालाई व्यावहारिक रूपमा संस्थागत गर्ने दिशामा यसलाई एउटा महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ ।
बर्तौलाका अनुसार नागरिकको प्रतिक्रियाले कर्मचारीलाई आफ्नो कार्यशैलीको समीक्षा गर्ने अवसर दिनुका साथै सेवाप्रवाहमा थप संवेदनशील बन्न प्रेरित गर्नेछ । कर्मचारीले आफूले दिएको सेवाप्रति नागरिकको धारणा थाहा पाउँदा सुधार गर्नुपर्ने पक्ष बुझ्न र राम्रो कामलाई निरन्तरता दिन सहयोग पुग्ने उनको विश्वास छ ।
यसरी नागरिकको सन्तुष्टिलाई कर्मचारीको कार्यसम्पादनसँग जोड्ने अभ्यासले सार्वजनिक प्रशासनलाई प्रक्रियामुखी मात्र नभई परिणाममुखी र जनमुखी बनाउने सम्भावना बोकेको छ ।
कारबाहीभन्दा सुधारमा जोड
नागरिकको प्रतिक्रियालाई कर्मचारीको मुल्यांकनसँग जोड्ने विषय जति महत्त्वपूर्ण छ, त्यसको वस्तुनिष्ठता सुनिश्चित गर्ने पक्ष त्यति नै संवेदनशील पनि छ । राम्रो काम गरिरहेको कर्मचारीप्रति कसैले व्यक्तिगत पूर्वाग्रहका कारण नकारात्मक प्रतिक्रिया दिन सक्छ । कानुनी प्रक्रिया पूरा नगरी सेवा लिन खोज्ने नागरिकले आफ्नो अपेक्षाअनुसार काम नभएको अवस्थामा पनि असन्तुष्टि व्यक्त गर्न सक्छ ।
त्यसो भए एउटा ‘डिसलाइक’ नै कर्मचारीको कमजोर कार्यसम्पादनको प्रमाण बन्न सक्छ त ? प्रमुख प्रशासकीय अधिकृत बर्तौला त्यस्तो नहुने स्पष्ट पार्छन् । उनका अनुसार कुनै एक वा दुई व्यक्तिबाट प्राप्त नकारात्मक प्रतिक्रियाका आधारमा कर्मचारीको समग्र कार्यसम्पादनबारे निष्कर्ष निकालिने छैन । प्रतिक्रियाको प्रकृति, असन्तुष्टिको कारण र समग्र मुल्यांकनलाई आधार बनाएर सुधारका उपाय पहिचान गरिनेछ ।
बर्तौला उदाहरण दिन्छन्-सय जना नागरिकले कुनै कर्मचारीबाट प्राप्त सेवाप्रति सन्तुष्टि व्यक्त गरिरहेका छन् र त्यसपछि अर्को एक जना असन्तुष्ट भए भने उक्त असन्तुष्टिको कारण खोज्नुपर्छ । तर त्यही एउटा नकारात्मक प्रतिक्रियाका आधारमा कर्मचारीको कार्यसम्पादन मुल्यांकन प्रभावित हुने गरी व्यवहार गर्नु उचित हुँदैन ।
अर्कोतर्फ, ठूलो सङ्ख्यामा सेवाग्राहीबाट निरन्तर नकारात्मक प्रतिक्रिया प्राप्त भएमा त्यसलाई सामान्य रूपमा लिन पनि नहुने उनको भनाइ छ । त्यस्तो अवस्थामा कर्मचारीलाई सुधारका लागि समय र अवसर दिने, आवश्यकताअनुसार जिम्मेवारी परिवर्तन गर्ने र त्यसबाट पनि अपेक्षित सुधार नभए थप प्रक्रिया अघि बढाउन सकिने उनी बताउँछन् ।
“एक-दुईवटा नकारात्मक कुरा आएकै भरमा हामी कारबाहीसम्म पुग्दैनौँ । सुधारको तर्फ जान्छौँ,” बर्तौला भन्छन् ।
प्रशासनिक नेतृत्वको यो दृष्टिकोणले नागरिकको प्रतिक्रियालाई कर्मचारीमाथि दबाब सिर्जना गर्ने माध्यमभन्दा सेवा सुधार र संस्थागत सिकाइको अवसरका रूपमा उपयोग गर्न खोजेको देखिन्छ ।
असल कामको पहिचान र सम्मान
सार्वजनिक प्रशासन सुधारको बहसमा कर्मचारीका कमजोरी र सेवाग्राहीका गुनासा प्राय: प्राथमिकतामा पर्छन् । तर इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै नागरिकलाई सहज सेवा दिइरहेका कर्मचारीको पहिचान र प्रोत्साहन पनि प्रशासन सुधारको उत्तिकै महत्त्वपूर्ण पक्ष हो ।
बुढानीलकण्ठले सेवाग्राही सन्तुष्टि सर्वेक्षणलाई त्यसका लागि पनि उपयोग गर्ने सोच बनाएको छ । नागरिकबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई व्यवस्थित अभिलेखमा राख्दा जिम्मेवार, मिहिनेती र सेवाभाव भएका कर्मचारीको पहिचान गर्न सहज हुन सक्छ । त्यसबाट नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको असल कार्यशैली संस्थाभित्र अरूका लागि पनि सिकाइको विषय बन्न सक्छ ।
नगरपालिकाले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाका अनुसार आगामी दिनमा कर्मचारीलाई पुरस्कार प्रदान गर्दा सेवाग्राहीबाट प्राप्त मुल्यांकनलाई महत्त्वपूर्ण मापदण्ड बनाइनेछ । सेवा अवधि, अनुभव र अन्य स्थापित सूचकसँगै नागरिकको प्रतिक्रिया पनि कर्मचारीलाई प्रोत्साहन गर्ने आधार बन्नेछ ।
बर्तौला यो प्रणालीले कर्मचारीलाई थप अनुशासित र उत्प्रेरित बनाउने विश्वास व्यक्त गर्छन् । उनका अनुसार आफूले प्रवाह गरेको सेवाप्रति सेवाग्राही सन्तुष्ट भए वा भएनन् भन्ने जानकारी पाउनुलाई कर्मचारीले दबाबका रूपमा नभई आफ्नो व्यावसायिक क्षमता र कार्यशैली सुधार्ने अवसरका रूपमा लिनुपर्छ ।
असल कामको सम्मान गर्ने संस्कृतिले कर्मचारीको मनोबल बढाउन सक्छ भने सुधार आवश्यक रहेका पक्षमा समयमै ध्यान दिन सक्दा कार्यालयको समग्र सेवा प्रवाह थप प्रभावकारी बन्न सक्छ ।
डिजिटल शासनको अर्को फड्को
बुढानीलकण्ठ नगरपालिकाले अघि सारेको पछिल्लो अभ्यासको पृष्ठभूमिमा केही वर्षदेखि सञ्चालनमा रहेको डिजिटल रूपान्तरण अभियान छ । सूचना प्रविधिलाई कार्यालयको आन्तरिक कामकाजमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवन र सार्वजनिक सेवा प्रवाहसँग जोड्ने प्रयास नगरपालिकाले गर्दै आएको छ ।
प्रशासन डटकमले गरेको स्थलगत रिपोर्टिङका क्रममा नगरपालिकाका १३ वटै वडा कार्यालय, ११ स्वास्थ्य संस्था र १९ सामुदायिक विद्यालय इन्टरनेट सञ्जालमा जोडिएको पाइएको थियो । विद्युतीय हाजिरी, अनलाइन दर्ता-चलानी, डिजिटल अभिलेख, अनलाइन कर भुक्तानी, मोबाइल एप, क्युआर कोडयुक्त परिचयपत्र, गुनासो व्यवस्थापन तथा फाइल ट्र्याकिङ प्रणालीलगायत अभ्यासलाई नगरपालिकाले आफ्नो प्रशासनिक संरचनामा समाहित गर्दै आएको छ ।
घरको नक्सा पास गर्ने प्रक्रियामा गरिएको डिजिटल रूपान्तरण त्यसको एउटा व्यावहारिक उदाहरण हो । नागरिकले आवश्यक कागजात अनलाइनमार्फत बुझाउन र आफ्नो फाइल कुन चरणमा पुगेको छ भन्ने जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसले नागरिकलाई पटक-पटक कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने आधार तयार गर्नुका साथै सेवा प्रवाहमा पारदर्शिता बढाउन सहयोग पुर्याएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको भनाइ छ, “हाम्रो लक्ष्य नागरिकको हात-हातमा सेवा पुर्याउने हो । डिजिटल प्रविधिले समय बचत मात्र होइन, विश्वास पनि बढाएको छ ।”
प्रविधिमार्फत नागरिक र प्रशासनबीचको दूरी कम गर्ने यही अभियानको अर्को चरण हो सेवाग्राही सन्तुष्टि सर्वेक्षण । यसअघि प्रविधिको प्रयोगबाट नागरिकले आफ्नो काम कहाँ पुग्यो भन्ने जानकारी पाउँथे । अब त्यही प्रविधिबाट प्रशासनले नागरिकले कस्तो सेवा पाए भन्ने जानकारी प्राप्त गर्नेछ ।
सेवासँगै नागरिकको सम्मान
सार्वजनिक सेवाको गुणस्तर कार्यालयले कति काम गर्यो भन्ने तथ्यांकबाट मात्र निर्धारण हुँदैन । सेवा लिन आउने नागरिकसँग गरिएको व्यवहार, उनीहरूलाई उपलब्ध गराइएको सूचना, समस्या समाधान गर्न देखाइएको तत्परता र सेवा प्राप्त गर्ने प्रक्रियाको सहजताले पनि त्यसलाई निर्धारण गर्छ ।
यसअघि नगरपालिकामा परिचयपत्र लिन पुगेकी सेवाग्राही अम्बिका कार्कीले परिचयपत्र तयार भएको जानकारी मोबाइल सन्देशबाटै प्राप्त गर्दा सन्तुष्टि व्यक्त गरेकी थिइन् । अर्का स्थानीय नागरिक यज्ञमूर्ति भण्डारीले पनि नगरपालिकाबाट प्राप्त सेवा सहज र कर्मचारीको व्यवहार शिष्ट रहेको अनुभव सुनाएका थिए । यस्ता व्यक्तिगत अनुभवले समग्र नगरपालिकाको सेवा गुणस्तरको प्रतिनिधित्व नगरे पनि नागरिकमैत्री प्रशासनका लागि कस्ता अभ्यास महत्त्वपूर्ण हुन्छन् भन्ने बुझ्न मद्दत गर्छन् ।
सेवा लिन सरकारी कार्यालय धाउनुपर्दा नागरिकको समय र श्रम मात्र खर्च हुँदैन, कतिपय अवस्थामा उनीहरूको दैनिक आम्दानीसमेत प्रभावित हुन्छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दैनिक ज्यालादारीमा आश्रित नागरिकका लागि पटक-पटक कार्यालय पुग्नुपर्ने अवस्था थप कठिन हुन सक्छ । त्यसैले सार्वजनिक सेवालाई सहज बनाउनु प्रशासनिक दक्षताको विषय मात्र नभई नागरिकको समय, आर्थिक अवस्था र सम्मानसँग जोडिएको विषय पनि हो ।
बुढानीलकण्ठमा भइरहेका डिजिटल अभ्यासलाई नागरिकको दैनिक जीवन सहज बनाउने यही दृष्टिकोणबाट हेर्न सकिन्छ । प्रविधि जान्ने नागरिकका लागि सेवा छिटो बनाउनुका साथै प्रविधि प्रयोग गर्न नसक्ने नागरिकलाई पनि उत्तिकै सहज रूपमा सेवा उपलब्ध गराउन सक्दा मात्र डिजिटल रूपान्तरणको उद्देश्य पूरा हुनेछ ।
स्थानीय प्रशासनमा नवीन अभ्यास
नेपालका अन्य स्थानीय तहले पनि सेवाग्राही सन्तुष्टि सर्वेक्षण, सार्वजनिक सुनुवाइ तथा विद्युतीय गुनासो व्यवस्थापनका विभिन्न अभ्यास गर्दै आएका छन् । तर सेवाको प्रकृति र शाखाअनुसार डिजिटल मूल्यांकन गर्दै त्यसबाट प्राप्त प्रतिक्रियालाई कर्मचारीको कार्यसम्पादन, प्रोत्साहन र प्रशासनिक सुधारसँग एकीकृत रूपमा जोड्ने बुढानीलकण्ठको प्रयास स्थानीय प्रशासनमा एक नवीन अभ्यासका रूपमा देखिएको छ ।
यस प्रकृतिको एकीकृत प्रणाली अन्य स्थानीय तहमा खासै लागू नभईसकेको अवस्थामा बुढानीलकण्ठले यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न सके मुलुकका अन्य स्थानीय तहका लागि पनि अनुकरणीय अभ्यास बन्ने देखिन्छ ।
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिक रहेको शासकीय संरचना भएकाले सार्वजनिक सेवा प्रवाहमा हुने साना तर प्रभावकारी सुधारले पनि नागरिकको सरकारप्रतिको धारणामा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ । त्यसका लागि सधैँ ठूला पूर्वाधार वा ठूलो बजेट नै आवश्यक पर्दैन । उपलब्ध स्रोत, प्रविधि, प्रशासनिक इच्छाशक्ति र सुधारप्रतिको प्रतिबद्धताबाट पनि उल्लेखनीय परिवर्तनको आधार तयार गर्न सकिन्छ भन्ने सन्देश बुढानीलकण्ठको यो अभ्यासले दिएको छ ।
सहभागितादेखि परिणामसम्म
सेवाग्राही सन्तुष्टि सर्वेक्षणको सफलता मापन गर्न नगरपालिकाले नागरिकको सहभागिता दरलाई महत्त्वपूर्ण आधार बनाउने सोच अघि सारेको छ । कति नागरिकले सेवा प्राप्त गरे र तीमध्ये कतिले आफ्नो अनुभव व्यक्त गरे भन्ने तथ्यांकका आधारमा आगामी वर्ष प्रणालीको समीक्षा गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बर्तौला बताउँछन् ।
उनका अनुसार एक हजार जनालाई सेवा दिँदा २० वा ३० जनाले मात्र प्रतिक्रिया दिए भने प्रणालीको प्रभावकारिता र पहुँचमा पुनर्विचार गर्नुपर्ने हुन्छ । एक हजारमध्ये नौ सय जनाले प्रतिक्रिया दिए भने नागरिक सहभागिताका दृष्टिले त्यसलाई सफल अभ्यासका रूपमा लिन सकिन्छ । त्यसबाट प्राप्त अनुभवका आधारमा आगामी दिनमा प्रणालीको स्वरूप र सञ्चालन विधिलाई थप परिष्कृत गर्दै लैजाने सोच नगरपालिकाको छ ।
यद्यपि, सहभागिताको दरसँगै नागरिकको प्रतिक्रियाबाट के-कस्तो सुधार भयो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । असन्तुष्टि बढी देखिएका सेवामा कस्तो परिवर्तन गरियो, सेवा प्राप्त गर्न लाग्ने समय कति घट्यो, कर्मचारीको व्यवहारमा सुधार भयो कि भएन र नागरिकले त्यसको अनुभूति गर्न पाए कि पाएनन् भन्ने आधारमा प्रणालीको वास्तविक प्रभावकारिता परीक्षण हुनेछ ।
प्राप्त प्रतिक्रियाको निष्पक्ष विश्लेषण, तथ्यांकको गोपनीयता, प्रणालीको विश्वसनीयता र सबै वर्गका नागरिकको समान पहुँच सुनिश्चित गर्दै यसको नियमित समीक्षा गर्न सकिए यो अभ्यास अझ बलियो बन्न सक्छ ।
नागरिकमुखी शासनतर्फको यात्रा
बुढानीलकण्ठ नगरपालिकाले अघि सारेको ‘आहा बुढानीलकण्ठ’को अवधारणा भौतिक पूर्वाधार निर्माण र नगरको बाह्य स्वरूप परिवर्तनमा मात्र सीमित छैन । आफ्ना नागरिकलाई कस्तो सेवा उपलब्ध गराउने, उनीहरूको दैनिक जीवन कसरी सहज बनाउने र स्थानीय सरकारप्रति विश्वास कसरी बढाउने भन्ने विषय पनि त्यसका अभिन्न पक्ष हुन् ।
प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको नेतृत्वमा अघि बढाइएका डिजिटल सेवा, प्रशासनिक प्रक्रियाको सरलीकरण र सेवाग्राही सन्तुष्टि मापनका अभ्यासले नगरपालिकाको प्रशासनलाई क्रमश: नागरिककेन्द्रित बनाउने दिशा देखाएका छन् । सेवा लिने नागरिकको अनुभवलाई महत्त्व दिने, असन्तुष्टिको कारण खोज्ने, असल कामलाई प्रोत्साहन गर्ने र कमजोरी सुधार्ने संस्कृतिलाई संस्थागत गर्न सकिए यसले स्थानीय सुशासनलाई थप बलियो बनाउनेछ ।
नागरिकको एउटा सकारात्मक प्रतिक्रियाले राम्रो काम गर्ने कर्मचारीलाई थप ऊर्जा दिन सक्छ । एउटा नकारात्मक प्रतिक्रियाले प्रशासनभित्र लामो समयदेखि पहिचान हुन नसकेको कमजोरी देखाउन सक्छ । अनि एउटा रचनात्मक सुझावले समग्र सेवा प्रणाली सुधार्ने बाटो खोल्न सक्छ ।
बुढानीलकण्ठले नागरिकलाई सार्वजनिक सेवाको प्राप्तिकर्तामा मात्र सीमित नराखी त्यसको मूल्यांकन र सुधार प्रक्रियाको साझेदार बनाउने प्रयास थालेको छ । यो प्रयासले अपेक्षित परिणाम हासिल गरे स्थानीय सरकारलाई नागरिकमैत्री, जनमुखी र उत्तरदायी बनाउने अभियानमा अर्को महत्त्वपूर्ण अभ्यास स्थापित हुनेछ ।
किनकि सुशासनको वास्तविक उपलब्धि सरकारले आफ्ना नागरिकका लागि के-कति काम गरेको दाबी गर्छ भन्नेमा होइन, सरकारको कामबाट नागरिकले कति सहजता, सन्तुष्टि र सम्मानको अनुभूति गर्छन् भन्नेमा निहित हुन्छ ।






