काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि पुन: तीन सहसचिवको नाम सिफारिस गरिएको छ। यसअघि सिफारिसमा पहिलो नम्बरमा रहेका सहसचिव श्रीकृष्ण नेपाल सचिवमा बढुवा हुन नपाउँदै अनिवार्य अवकाशमा गएपछि बढुवा सिफारिस समितिले थप एक वरिष्ठ सहसचिवको नाम समावेश गरी तीन जनाको नाम पुन: सिफारिस गरेको हो।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार पछिल्लो सिफारिसमा नारायणप्रसाद भट्ट पहिलो, विनोदबहादुर कुँवर दोस्रो र उत्तरकुमार खत्री तेस्रो नम्बरमा रहेका छन्। खत्री अर्थ मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत छन्।
यसअघि रिक्त एक सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र विनोदबहादुर कुँवर क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए। तर पहिलो नम्बरमा सिफारिस भएका नेपाल बढुवाको निर्णय हुनुअघि नै ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सिफारिस सूचीमा तीन जना कायम गर्न थप वरिष्ठ सहसचिवको नाम समावेश गरिएको हो।
सिफारिसको भोलिपल्टै अवकाश
नेपाल सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भए पनि उनको सेवा अवधि अत्यन्त छोटो बाँकी थियो। सिफारिस भएको भोलिपल्टै उनको निजामती सेवाको अन्तिम दिन परेको थियो। त्यस दिन मन्त्रिपरिषदबाट बढुवाको निर्णय हुन नसकेपछि उनी सहसचिव पदबाटै अनिवार्य अवकाशमा गएका हुन्। सो दिन मन्त्रिपरिषद बैठक बसेन ।
नेपाल अवकाशमा गएसँगै यसअघि दोस्रो नम्बरमा रहेका भट्ट पहिलो र तेस्रो नम्बरमा रहेका कुँवर दोस्रो नम्बरमा उक्लिएका छन्। रिक्त एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्थाअनुसार वरिष्ठताको क्रमबाट खत्रीलाई तेस्रो नम्बरमा समावेश गरिएको स्रोतले जानकारी दिएको छ।
यसरी फेरिँदै आयो सिफारिसको क्रम
पछिल्लो समय सचिव बढुवाको सिफारिस सूची वरिष्ठताको क्रमसँगै लगातार परिवर्तन हुँदै आएको छ।
गत २८ साउनमा रोकिएको सचिव बढुवा प्रक्रिया पुन: अघि बढ्दा कमलप्रसाद भट्टराई पहिलो, इन्दु घिमिरे दोस्रो र श्रीकृष्ण नेपाल तेस्रो नम्बरमा सिफारिस भएका थिए। सरकारले भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो।
भट्टराईको बढुवापछि रिक्त पदका लागि गरिएको अर्को सिफारिसमा इन्दु घिमिरे पहिलो, श्रीकृष्ण नेपाल दोस्रो र नारायणप्रसाद भट्ट तेस्रो नम्बरमा परेका थिए।
गत १२ भदौको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएका थिए। त्यसपछि नेपाल, भट्ट र कुँवर क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।
तर नेपाल बढुवाको निर्णय हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि अहिले भट्ट, कुँवर र खत्रीको नाम क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएको हो।
सिफारिस समितिले तीन जनाको नाम पठाएसँगै अब सचिव बढुवाको निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। सम्भवत: आज बस्ने मन्त्रिपरिषद् बैठकमा सचिव बढुवाको निर्णय हुन सक्ने स्रोतको भनाइ छ।
मन्त्रिपरिषद्ले सिफारिसमा परेका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ। पछिल्लो सिफारिसअनुसार पहिलो नम्बरमा भट्ट, दोस्रोमा कुँवर र तेस्रोमा खत्री रहेकाले अब तीनमध्ये को विशिष्ट श्रेणीमा पुग्छ भन्ने निर्णय मन्त्रिपरिषद्को हातमा पुगेको छ।






