काठमाडौँ । प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ।
सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो।
समितिले योग्यताक्रममा कर्माचार्यलाई पहिलो, सिंहलाई दोस्रो र श्रेष्ठलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको छ।
यसअघि पनि कर्माचार्य र सिंह सचिव बढुवाको सिफारिसमा परिसकेका छन्। गत वर्ष रिक्त एक प्राविधिक सचिव पदका लागि चिरञ्जीवी चटौत, कर्माचार्य र सिंह क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए। उक्त सिफारिसबाट सरकारले चटौतलाई सचिवमा बढुवा गरेको थियो।
प्राविधिकतर्फ रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएसँगै अब सचिव बढुवाको विषय मन्त्रिपरिषदमा जानेछ। प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्ये एक जनालाई सरकारले सचिवमा बढुवा गर्नेछ।
यसअघि प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भइसकेको छ।
अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रशासन र प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाको निर्णय हुने छ।






