दुध, तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुमा अनेकन् रसायन र विषादीको प्रयोग यति भयावह रुपमा भइरहेको छ कि हामी स्वास्थ्यका लागि नभई नहुने खानेकुराका नाममा निरन्तर मन्दविष खान बाध्य छौँ ।
चाडपर्व भनेपछि हुरुक्कै हुने हाम्रो स्वभाव नै हो । त्यसैले त आर्थिक अवस्था केही बलियो हुनेले मन खोलेर खानपानमा खर्च गर्छन् । पैसा नहुने वा गर्जो टार्न धौ-धौ हुनेले पनि ऋणपान या ऐँचोपैँचो गरेरै भए पनि मिठो-मसिनो खाने जोहो गर्छन् । अनि धुमधामले चाडपर्व मनाउँछन् । तर पछिल्ला केही महिनायता सार्वजनिक भएका एकपछि अर्को घटनाक्रमले एउटा गम्भीर प्रश्न उब्जाएको छ -यसरी खाइने मिठो-मसिनोका नाममा हामी आफ्नै शरीरमा विष त हालिरहेका छैनौँ ?
हामीले बिहानको दैनिकी शुरु गर्न घरमा ल्याउने दुध, दिउँसोदेखि बेलुकीसम्म होटल-रेस्टुरेन्टमा खाने खाना, मिठाई, घ्यू, आँटा, पफ-क्रोइसन्ट, मसला, सस-भिनेगर, दाल र दैनिक खाने हरियो सागसम्म आइपुग्दा बजारको अवस्था झन् भयावह देखिन थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्ला केही महिनायता गरेको बजार अनुगमनका तथ्यांकले दैनिक उपभोगका वस्तुहरूमै अत्यधिक मिसावट, म्याद उल्लंघन, रासायनिक जोखिम र स्वच्छतामा चरम लापरबाही उजागर गरिदिएको छ । यी घटनाहरू छुट्टाछुट्टै होइनन् -यी सबै मिलेर बजारको एउटा साझा चित्र कोर्छन्, जहाँ उपभोक्ताको स्वास्थ्यभन्दा नाफालाई महत्व दिइएको छ । अर्थात् उपभोक्ताको स्वास्थ्य केही पनि होइन, ब्यापारीको नाफा नै सबैथोक हो भन्ने ‘फर्मुला’ले बजारमा राज गरेको छ ।
हामीले यो अवस्था भोगिरहँदा अरुतिर के भएको छ भनेर हेर्यौँ भने अझ उदेकलाग्दो तस्वीर देख्छौँ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा खाद्यवस्तुको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रष्ट नीति अंगीकार गरिएको र त्यसलाई कडाइपूर्वक कार्यान्वयन गरिएको देखिन्छ । विकसित मुलुकहरूमा खाद्य सुरक्षा उल्लंघनलाई सार्वजनिक स्वास्थ्य अपराधका रूपमा लिइन्छ । त्यसो गरेमा उत्पादन रोक्का, ठूलो जरिवाना, लाइसेन्स खारेजी र आपराधिक अभियोजनसम्मका प्रबन्ध छन् ।
नेपालमा भने अनेकन बहानामा मापदण्ड नपुगेका वस्तुहरू उत्पादन र बिक्रीवितरण हुँदै आएको यथार्थ एकपल्ट वा दुईपल्ट होइन, बारम्बार सतहमा आइरहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानूनमा व्यवस्था गरिएअनुशार निर्देशन दिनेदेखि दण्ड-जरिवाना त गर्छ, तर त्यो निष्प्रभावी जस्तै छ । अखाद्य वस्तुहरुको उपभोगको प्रत्यक्ष परिणाम दीर्घकालीन स्वास्थ्य समस्या र उपचारमा ठूलो धनराशी खर्चिनुपर्ने बाध्यतासम्म पुग्छ जसको भार अन्तत: उपभोक्ता, परिवार र सिंगो राष्ट्रले बेहोर्नुपरेको छ ।
दूधमा रसायन, कलिला बालबालिका र बिरामीको थालमै जोखिम
हामी प्राय:को दैनिकी बिहान दुधको जोहोबाटै शुरु हुन्छ । बालबालिका, बिरामी, बृद्धबृद्धा सबैले दैनिक सेवन गर्ने वस्तु हो दुध । यसपालिको दशैँ नजिकिँदै गर्दा असोज १२ गते भक्तपुरस्थित एक डेरी उद्योगमा संकलित दूध परीक्षण गर्दा प्रशोधित दूधमै न्यूट्रलाइजर (सोडियम हाइड्रोक्साइड) भेटियो । ‘शिवम्’ ब्राण्डको रातो प्याकेटमा रहेको दुध मापदण्डभन्दा न्यून स्तरको ठहर भएपछि एक हजार ७०० लिटर दुध उद्योग परिसरमै नष्ट गरियो ।
झट्ट हेर्दा दुध नष्ट गरिनु राहतको कुरा थियो । तर प्रश्न उही रह्यो -यस्तै दुध कति दिनदेखि बजारमा गइरहेको थियो ? अनि अरु कति ब्रान्डका दुधमा यो समस्या थियो ?
दुधमा न्यूट्रलाइजर मिसावट सामान्यतया: दूध बिग्रिएको लुकाउनलाई प्रयोग गरिन्छ जसले दीर्घकालमा पाचन प्रणाली, कलेजो र मिर्गौलामा असर पुर्याउन सक्छ । दैनिक उपभोग हुने यस्ता वस्तुमा रसायन भेटिनु केवल एक उद्योगको समस्या नभई समग्र दुग्ध बजारको नियमनमाथि नै गम्भीर प्रश्न हो ।
होटेल-रेस्टुरेन्टका भान्सा: जोखिमका घर
दुधपछि अब हाम्रा दैनिक खानपानका कुरा गरौँ । काठमाडौँका व्यस्त क्षेत्रहरूमा गरिएको एक अनुगमनले देखायो -तन्दुरी, मम पसल, पानीपुरी, बेकरीदेखि सामान्य भान्सा घरसम्म फोहोर भान्सा, किट नियन्त्रणको अभाव, म्याद गुज्रिएका सामग्री र खराब तेल प्रयोग भइरहेको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज अन्तिम साता बानेश्वर क्षेत्रका होटल तथा रेष्टुरेन्टमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेको भेटियो ।
कुनै रेष्टुरेन्टमा तेलको टीपीएम ३५ भेटिएपछि त्यही तेलमा बनेका परिकार नष्ट गरिए । बाहिर आकर्षक देखिने प्लेटभित्र स्वास्थ्य जोखिमको परत लुकेको दृश्य यहीँबाट प्रस्ट हुन्छ ।
बारम्बार तताइएको तेलले क्यान्सरसम्बन्धी जोखिम बढाउने चिकित्सकीय अध्ययनहरूले देखाइसकेका छन् । यस्तो तेल दैनिक खाइरहँदा दीर्घकालीन रोगको सम्भावना बढ्नु स्वाभाविक हो ।
अनलाइन बजारको ‘अदृश्य’ जोखिम : घरसम्मै असुरक्षाको डेलिभरी
आज उपभोक्ताको भान्सासम्म सामान पुर्याउने सबैभन्दा ठूलो माध्यम बनेको छ अनलाइन बजार । अनुमति नलिई खाद्य तथा आहारपूरक बिक्री भएको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज २३ गते चर्चित अनलाइन बिक्रेता दराजसँग स्पष्टीकरण माग्यो ।
दराजले आफू केवल प्लेटफर्म भएको दाबी गरे पनि यो प्रकरणले एउटा कुरा छताछुल्ल पारिदियो– अनलाइनमार्फत के बेचिँदैछ भन्ने नियमन कमजोर भयो भने जोखिम घर-घरमै पुग्ने रहेछ ।
विशेषगरी सप्लिमेन्ट, पेय पदार्थ र आयातित खाद्यवस्तु अनलाइनमार्फत सजिलै बिक्री हुनु नियमन गर्ने निकायका लागि नयाँ चुनौती बनेको छ ।
चाडबाडको मिठास नै खल्लो पार्ने खुवा, बर्फी
नेपालीका विभिन्न चाडपर्व नजिकिँदा सबैभन्दा धेरै खपत हुने खाद्यवस्तुमा पर्छन् -खुवा, बर्फी र मिठाई । गत कात्तिक ३ गते भक्तपुरका मिठाई पसलहरूमा गरिएको परीक्षणमा खुवा र बर्फीमा स्टार्च मिसावट गरिएको पुष्टि भयो ।
त्यसक्रममा कुनै पसलबाट ६० किलो, कतै ८० किलो त कतै २५ किलो मिठाई तत्कालै नष्ट गरियो । मिठो देखिने बर्फीभित्र मिसावट भेटिनुले चाडबाडको खुसीसँगै स्वास्थ्यमा कस्तो खेलवाड भइरहेको छ भन्ने तस्वीर उजागर भयो ।
जबकि काठमाडौँ उपत्यकामा प्रत्येक महिना कुनै न कुनै समूदायको चाडपर्व आइ नै रहन्छ र त्यसमा मिठाईजन्य वस्तुहरुको प्रयोग भइ नै रहन्छ । अन्य समयमा पनि मिठाई पसलहरु निकै चल्नेमध्येमै पर्छन् ।
मिठाईमा हुने यस्तो मिसावटले मधुमेह, पाचन समस्या र दीर्घकालीन स्वास्थ्य असर निम्त्याउन सक्छ ।
अस्पतालमा स्वच्छता अभाव, उपचारस्थलमै जोखिम
विरामी परेपछि उपचार भएर निको हुने आशमा पुग्ने ठाउँ हो अस्पताल । बिडम्बना चाहिँ कस्तो छ भने यसरी उपचारका लागि पुगिने अस्पतालमै स्वच्छता र सरसफाइको बिजोग छ । यतिसम्म कि अस्पतालका चमेना गृह (क्यान्टिन) मा त यससम्बन्धी मापदण्डको धज्जी नै उडाइएको छ ।
गत कात्तिक दोस्रो सातातिर निजामती कर्मचारी अस्पतालको क्यान्टिनमा पुग्दा सरसफाइ कमजोर, खाना खुला भण्डारण र पेस्ट कन्ट्रोलको पुरापुर अभाव भेटियो ।
बिरामी र उनीहरुका आफन्तले खाने खानामै जोखिम हुनु सार्वजनिक स्वास्थ्यका दृष्टिले अत्यन्त संवेदनशील विषय हो । त्यो पनि सरकारी अस्पतालमै यस्तो देखिनु झन् ठूलो बिडम्बना हो । यो भन्दा ठूलो बिडम्बना अरु के हुन सक्छ ?
घ्यू, आँटा र ठूला ब्रान्ड : भान्सा भान्सामा भय
भान्सामा अत्यावश्यक मानिने घ्यू र आँटामा पनि अवस्था उस्तै देखियो । बालाजुस्थित एक उद्योगमा अनुमतिबिना घ्यू उत्पादन र अर्कै कम्पनीको लेबल प्रयोग गरिएको भेटिएको छ । गत कात्तिक २६ गते गरिएको अनुगमनमा कानूनी अनुमतिबेगर विभिन्न खाद्य पदार्थको उत्पादन, प्याकेजिङ र बिक्री–वितरण भइरहेको फेला परेको थियो ।
त्यसक्रममा ४०० थान लेबल, ५०० मिलिलिटरका ३६ थान, १ लिटरका ३३ थान प्याक घ्यू तथा करिब ५० किलो कच्चा घ्यू बरामद गरिएको थियो ।
त्यस्तै, लुम्बिनी प्रदेशको जिल्ला बाँकेमा ९१ बोरा (४ हजार ५५० किलो) म्याद गुज्रिएको आँटा गोदाममै फेला परेपछि उद्योग परिसरमै नष्ट गरियो । मंसिर दोस्रो साता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको टोलीले ४३ देखि ६५ दिनसम्म म्याद गुज्रिसकेका आँटा नष्ट गरेको थियो ।
दैनिक रोटी बनाउने आँटा नै म्याद गुज्रिएको हुनु घर–घरको थाल असुरक्षित भइरहेको संकेत हो ।
खाजा, मसला र बजारका लोकप्रिय वस्तु : स्वादसँगै रोग
हालै मात्र बिहान-बेलुका चियासँग खाने पफ र क्याफेमा खाइने क्रोइसन्टमा ट्रान्स फ्याट मापदण्डभन्दा बढी भेटिएपछि ती उत्पादन बजारबाट फिर्ता गरी नष्ट गरिएका छन् ।
मंसिर १९ गते खजुरी ब्रान्डमा उत्पादन गरिएका पफमा प्रयोग भएको चिल्लोमा ट्रान्स फ्याटको मात्रा खाद्य ऐनले तोकेको २ प्रतिशतको सीमाभन्दा बढी भेटिएपछि उपभोगका लागि असुरक्षित ठहर गर्दै सो लटका सबै पफ बजारबाट फिर्ता गर्न आदेश दिइयो । खुद्रा पसल, होलसेलर र उपभोक्तालाई ती ब्याच नकिन्न र प्रयोग नगर्न आग्रह गरियो ।
खजुरीको नेपाल प्रालिले गल्ती स्वीकार गर्दै बजारबाट फिर्ता गरिएको विज्ञप्ति निकाल्यो र विभागकै रोहवरमा ३२५ कार्टुनमा रहेका ५ हजार २०० प्याकेट पफ नष्ट पनि गरियो ।
त्यसैगरी मंसिर २३ गते नाङ्लो बेकरी प्रालिद्वारा उत्पादित क्रोइसन्टमा औद्योगिक ट्रान्स फ्याट कानूनी सीमा २ प्रतिशतभन्दा बढी भेटिएपछि तत्काल फिर्ता गर्न आदेश दिइयो र १४० थान क्रोइसन्ट नष्ट गरियो ।
विश्व स्वास्थ्य संगठनको चेतावनीअनुसार ट्रान्स फ्याटको उच्च मात्राले मुटुरोग, स्ट्रोक र मधुमेहको जोखिम बढाउँछ । नेपालले २०७८ देखि खाद्य पदार्थमा ट्रान्स फ्याट २ प्रतिशतभन्दा कम हुनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ ।
मसला, सस-भिनेगर र शहर बजार : अनुमतिबिनै उत्पादन
खानेकुरालाई स्वादिलो बनाउन प्रयोग हुने ‘चिकमस मिक्स मसला पाउडर’मा फफूँदाको मात्रा तोकिएको १० प्रतिशतभन्दा बढी भेटिएपछि मंसिर २६ गते बजारबाट फिर्ता गर्न आदेश दिइयो ।
पुस पहिलो साता सुनसरीको इटहरी उपमहानगरपालिकामा अनुमतिबिना खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गर्दै आएका दुई उद्योगमाथि कारबाही पनि गरियो । गोर्खा फुड प्रोडक्टले तीन वर्षदेखि अनुमति नलिई सस, भिनेगर र कागतीको रस उत्पादन–वितरण गर्दै आएको भेटिएको थियो । प्रख्यात फुड प्रोडक्टले पनि अनुमतिबिना सस र भिनेगर उत्पादन-बिक्री गरेको यो घटनाले अराजकता कुन हदसम्म मौलाएको छ भन्ने देखाउँछ । शहर बजारमा धेरै चल्ने सस र भिनेगर अनुमतिबिना उत्पादन भइरहेका उद्योगबाट सयौँ कार्टुन रोक्का गरिएका थिए ।
विपत्तिको घन्टी: बिरामीलाई खुवाइने दाल र दैनिक सागमै विष
अझै चिन्ताजनक तथ्य त मुङको दालमा गरिएको रंगको मिसावटले उजागर गरेको छ । बिरामी हुँदा ‘हलुका’ भनेर खुवाइने दालमै यस्तो समस्या हुनु गम्भीर विषय हो । गत पुस पहिलो साता खाद्य आयात-निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले मुङ दाल ‘धोवा’को नमुनामा बाह्य रंग लगाइएको पुष्टि गरेको थियो ।
अस्पताल पुगेका विरामीलाई प्राय: चिकित्सकले भनिरहन्छन् -‘धेरै सागसब्जी खानुपर्छ ।’ तर भर्खरै मात्र नागार्जुनका एक तरकारी फार्मले उत्पादन गरेको रायोको सागमा ९९ प्रतिशतभन्दा बढी विषादी पुष्टि भएको छ । पुस दोस्रो साता नागार्जुन–६ र ७ वडामा पर्ने रामकोटका पाँच तरकारी फार्ममा गरिएको परीक्षणमा अर्गानो फस्फोरस वर्गको विषादी ९९.५२९ प्रतिशत भेटियो । दैनिक खाने हरियो साग नै विषादीले भरिएको हुनसक्ने तथ्यले उपभोक्तालाई नराम्रोसँग झस्काइदिएको छ । अब हरियो सागपात खाँदा पनि त्राहिमाम बन्नुपर्ने अवस्था आएको छ ।
निष्कर्ष : दण्ड प्रभावकारी, बजार संरचनामा फेरबदल
माथि उल्लेख गरिएका खाद्यबस्तु र तिनमा भएका मिसावट केही प्रतिनिधि उदाहरण मात्र हुन् । दुधदेखि सागसम्म खाँदा हामीले खाइरहेका मन्दविष देखाउने यी घटनाक्रम फरक–फरक जस्तो देखिए पनि खासमा यी सबै एउटै कथामा गाँसिएका छन् । त्यो के भने हामीले दैनिक उपभोग गर्ने, सबैभन्दा आवश्यक ठानिने वस्तुहरू नै सुरक्षित छैनन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनले देखाएको वास्तविकता झन् गहिरो छ । अर्थात् नियमन अझै पर्याप्त छैन र कारबाही पनि अपेक्षाकृत कम देखिन्छ । यद्यपि, विगतको तुलनामा पछिल्लो समय विभिन्न क्षेत्रमा गरिएको स्याम्पलिङ सकारात्मक छ । तर बजार अनुगमनलाई अझ तीव्र र निरन्तर बनाउनु अपरिहार्य देखिन्छ।
अन्तर्राष्ट्रियस्तरमा खाद्य सुरक्षामा सम्झौता नहुने अभ्यासबीच नेपालमा भने नियम उल्लंघनका बहानाहरूले बजारलाई जोखिमतर्फ धकेलिरहेका छन् । यसको परिणामस्वरूप क्यान्सर, मुटुरोग, मधुमेह, कलेजो र मिर्गौला सम्बन्धी समस्या जस्ता दीर्घरोग बढिरहेका छन् । यी त्यस्ता रोग हुन् जसको उपचारमा परिवारले ठूलो धनराशी खर्च गर्नुपरेको छ । जायजेथा नै बेचेर कंगाल हुनुपरेको छ । खाद्य असुरक्षाले स्वास्थ्य खर्च बढाउँदै आर्थिक र सामाजिक बोझ समेत सिर्जना गरिरहेको छ ।
अब आवश्यक छ -मिसावट, म्याद उल्लंघन र स्वच्छतामा लापरबाही गर्ने व्यवसायीलाई कडा कानूनी कारबाहीको दायरामा ल्याउनु । साथै, उपभोक्ताले पनि ‘मिठो देखियो’ भनेर मात्र होइन, लेबल, म्याद र गुणस्तर हेरेर सचेत हुनुपर्ने भएको छ ।
हामीले सोच्नैपर्ने भएको छ, वर्षेनी आउने चाडपर्वको मिठास र दैनिक खानपानकै नाममा हामी बिस्तारै विष सेवन गरिरहेका त छैनौँ ? यही प्रश्नले आजको बजारलाई कठघरामा उभ्याएको छ ।
सीमित स्रोत, साधन र जनशक्तिका बीच पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेका कार्य प्रशंसनीय छन् । तर अहिलेको बजार अवस्थालाई मध्यनजर गर्दै विभागलाई थप स्रोत, साधन र जनशक्ति उपलब्ध गराई अनुगमन र कारबाहीलाई अझ तीव्र र प्रभावकारी बनाउनु अपरिहार्य देखिएको छ । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने र त्यस्ता अभ्यासलाई संरक्षण गर्ने जो–कोहीलाई कडा कारबाहीको दायरामा ल्याउन सके मात्र मन्दविष खुवाउने यो अपराध रोकिने छ ।







