काठमाडौँ । सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको छ। प्रशासन विशेष स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।
लोक सेवा आयोगको परामर्शसहित फर्किएको विधेयक भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार मन्त्रिपरिषद्मा पठाएको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै अब विधेयक संघीय संसद्मा दर्ता गर्ने बाटो खुलेको छ।
यसअघि सरकारले विधेयकका १४८ दफामाथि परामर्शका लागि लोक सेवा आयोगमा पठाएको थियो। आयोगले अध्ययन गरी आफ्नो परामर्शसहित विधेयक सरकारलाई फिर्ता गरेको थियो।
विशेष गरी प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’, ३० वर्षपछिको निवृत्तिभरण, सचिव तथा सहसचिव तहमा बाह्य प्रवेश र बहालवाला कर्मचारीको सेवा-सर्तसँग सम्बन्धित व्यवस्थालाई कर्मचारी वृत्तले चासोका साथ हेरिरहेको छ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै लामो समयदेखि विभिन्न चरणमा छलफल हुँदै आएको संघीय निजामती सेवा विधेयक अब संसदीय प्रक्रियामा प्रवेश गर्ने भएको छ।



